माथागढी गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन शुरु

माया बस्याल
प्रकाशित : २०७७ माघ २१ गते १९:३९

झडेवा,पाल्पा

माघ २१

माथागढी गाउँपालिकाकाे आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सुरु भएको छ ।

सभाका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष सन्तोष थापाले पालिकाले नीतिगत रुपमा रहेर गरेका र भएका कार्यक्रमकाे बारेमा जानकारी गराउँदै विषयगत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

माथागढी गाउँपालिकाका कार्यकारी अधिकृत राजु नेपालले अहिलेसम्म पालिकाबाट सञ्चालन भएका नीतिगत विषय आर्थिक विषय तथा याेजना सञ्चालन कार्यान्वयनकाे अवस्था विश्लेषण गर्दै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत नेपालले ५१ कराेड ९९ लाख १२ हजार ९ सय ८ रुपैयाँ ९२ पैसा बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियोे। साथै प्रथम चाैमासिकमा रु. १७,८८,१०,७५० खर्च गर्ने लक्ष्य रहेपनि काेराेनाका कारण रु. ७,६८,६८,७३४.८६ मात्र खर्च भएको प्रतिवेदन पेश भएको थियोे । सभामा गाउँपालिकाले चालू आ.व.मा ८ सय घरपरिवारलाई नि: शुल्क बीमा ,असी घरपरिवारलाई जस्तापाता टिन , उपाध्यक्ष अण्डा हरियो झण्डा कार्यक्रम , कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू तथा प्रभावकारीता परिक्षण , स्वास्थ संस्थामा निशुल्क ल्याब सेवा बर्थिङ सेन्टर स्थापना तथा परिचालन र प्रभावकारीता अनुगमन , वडा नम्बर २/७/८ मा ईन्टरनेट अवरोध समस्या समाधान जस्ता कार्यक्रमहरु सम्पन्न गरेको प्रतिवेदन प्रस्तुत भएको थियो । चालू आ.व.मा पारित ४५० योजनाहरु मध्ये १०२ याेजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको समेत प्रमुख प्रशासकीय अधिकृत नेपालले बताउनुभयो ।

सभामा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा उपाध्यक्ष निर्मला भट्टराईले लक्षित वर्ग उत्थान कार्यक्रम अन्तरगत ६८ जनालाई न्यानाे कपडा वितरण , २३ जनालाई अपांग परिचयपत्र वितरण,१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण,लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमहरु सञ्चालन भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशन भोलिसम्म चल्नेछ ।

 


प्रकाशित : २०७७ माघ २१ गते १९:३९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology