एकिकृत मगर उत्थान समाज रामपुरले ३९ औं मगर एकता दिवस मनायो ।

रमा भण्डारी
प्रकाशित : २०७७ फागुन १५ गते २०:१४

फागुन १५,रामपुर पाल्पा
एकिकृत मगर उत्थान समाज रामपुरको १३औं वार्षिक उत्सव तथा ३९औं राष्ट्रिय मगर एकता दिवस कार्यक्रम रामपुरमा सम्पन्न भएको छ ।

एकिकृत मगर उत्थान समाज रामपुर का अध्यक्ष रामबहादुर हिस्की मगरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना लुम्बिनी प्रदेशका सांसद तुलाराम घर्तिमगर”बसन्त” रहनुभएको थियो । कार्यक्रममा मुख्य पाहुना लुम्बिनी प्रदेश सांसद घर्तिमगरले रामपुरका मगर दाजुभाइ दिदिबहिनीहरुले पगरी गुथाई दिएर सम्मान गरेकोमा आफू त्यसप्रति ऋणी भएको बताउँदै मगर समुदायको धर्म संस्कृतिको संरक्षणका लागि संग्राहलय आवश्यक रहेको भन्दै जग्गाको लागि पहल गर्ने बताउनुभएको छ । मगरहरुको आफ्नै छुट्टै पहिचान भएको बताउनुहुँद‌ै सांसद घर्ती मगरले अगाडी भन्नुभयो-“करिब ६५ प्रतिशत मगर समुदायको बाहुल्यता भएको यस क्षेत्रमा हामी मगर हौं,त्यसबाहेक हामी रामपुरबासी पाल्पाली पनि हौं ।”
फरक प्रसङमा उहाँले मगरहरुमा राजनितिक वितृष्णाले गर्दा राज्यको निर्णायक तहमा मगर समुदायको यथोचित प्रतिनिधित्व नभएको बताउनुभयो । उहाँले अगाडी भन्नुभयो-” मगरहरुको बाहुल्यता रहेको लुम्बिनी प्रदेशमा समेत अहिले ८ जना मात्र मगर सांसद हुनु दुःखको कुरा हो ।” उहाँले जातिय नारालाई साम्प्रादायिक रुपमा नभई पहिचानका निम्ती उठाउनु जायज हुने बताउनुभयो । कार्यक्रममा अर्का लुम्बिनी प्रदेशका सांसद युवराज खनालले मगर समुदायको बाहुल्यता भएको रामपुर मात्र होइन पुर्वी पाल्पामा आफ्नो अधिकारका लागि आफै अगाडि बढ्नुपर्ने सुझाउनुभयो ।

कार्यक्रममा नेपाल मगर संघ प्रदेश सदस्य क्या.धनबहादुर राना मगर ,रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे आचार्य, एकिकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी,रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेपाल मगर संघ पाल्पाका पुर्व उपाध्यक्ष बोम बहादुर थापा, नेपाल मुस्लिम संघ पाल्पाका सभापति हजिल दिन मियाँ, नेकपाका प्रदेश कमिटी सदस्य जित बहादुर थापा”हिरा”, रेडियो पाल्पाका समाचार प्रमुख दान बहादुर हिस्कीमगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा मगर समुदायका जेष्ठ सदस्य डुमा कुमारी सिंजाली र लिल बहादुुर थापाले कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने तिर्सना पाटालाई सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा एकिकृत मगर उत्थान समाज अन्तर्गतका विभिन्न समुहले झ्याउरे, कौरा, सालैजो भाका सहितका झाँकी प्रस्तुत गरेका थिए ,साथै हरिनास गाउँपालिका क्याक्मीको यानुबाजा समुहको विषेश प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा १८ समुहका ब्यानर, मगरी भेषभुषामा उपस्थित हजारौंको सहभागीतामा झाँकी सहित बेझाँड बजार परिक्रमा गरेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरु चिना थापा, निश्चल थापा, भक्त दर्लामी लगायतले प्रस्तुति दिनुभएको थियोे ।कार्यक्रममा समाजका सह -अध्यक्ष नरेन्द्र जर्घाले स्वागत मन्तव्य दिनुभएको थियोे ।

आदिवासी जनजाति समुदाय अन्तर्गत पर्ने देशैभरका मगर समुह, संघ संस्थाले आज ३९ औं राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएका छन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झनामा अर्थात नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ ।


प्रकाशित : २०७७ फागुन १५ गते २०:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology