नेपाल मगर संघ वीरकोट वडा समितिले ग-यो सहयोगी सम्मान कार्यक्रम

तीर्थ सारु मगर
प्रकाशित : २०७७ फागुन २४ गते २१:२५

फाल्गुन २४,वीरकोट

नेपाल मगर संघ पूर्वखोला गाउँपालिका-५,वीरकोट,वडा समितिले गत बर्ष सम्पन्न ३८ अौं मगर दिवसको कार्यक्रममा आर्थिक सहयोग गर्ने ९० जना सहयोगीहरुलाई ‘सम्मान पत्र र पाल्पाली करुवा’ ले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला -५,वीरकोटका कार्यवाहक वडा अध्यक्ष साबित्रा झेंडी थापाले मैन बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । उहाँले मगरहरुको लोपउन्मुख अवस्थामा रहेको मगर भाषा,संस्कृति,कला आदिको संरक्षण गर्न सबै मगरहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा गत बर्ष सम्पन्न मगर दिवस कार्यक्रमको आर्थिक प्रतिबेदन सोम पल्लीले प्रस्तुत गर्दै हाल वडा समितिको खातामा रू १,५१,६२९/- रकम बचत रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्यसमिति रूपन्देहीका  सचिब तथा बुटवल उपमहानगर अध्यक्ष थर्क बहादुर बारघरेले आगामी २०७८ सालमा हुने जनगणनामा मगरहरूले नामको पछाडि ‘मगर’ र धर्ममा  ‘बुद्ध ‘ लेख्नु पर्नेमा जोड दिनुको साथै राज्यले पनि मगरको भेष-भुषालाई सम्मान गर्नु पर्नेमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्यसमिति पाल्पाका पूर्व सचिब बिष्णु कुमार पल्लीले आफ्नो मातृभाषामा नै  मन्तव्य राख्दै मगरहरू आफ्नो हक र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा पूर्वखोला गाउँपालिकाका कृषि विशेषज्ञ कमान सिंह थापा,वडा सदस्य कृष्ण प्रसाद श्रेष्ठ , कलाकार मेक सारू लगायतका बक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मगर लोक संस्कृति झल्काउने वाशाको घाटु नाच,कौडा नाचको प्रस्तुतिका साथै मगरी खाना बटुक सहितको नास्ता समेत वितरण गरिएको थियो । मगर संघ वडा समितिका सल्लाकार सदस्य इन्द्रकला बारघरेले नारी दिवसको अवसर पारेर नारी लक्षित कबिता प्रस्तुत गर्नु भएको थियो । व्यवसायी तथा जुझारू युवा जीवन थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ वीरकोट वडा समितिका वीर बहादुर सिंजालीको अध्यक्षता र सचिब प्रेम बहादुर बारघरेको संचालनमा श्री गणपति मा.बि.को प्राङ्गणमा  सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ फागुन २४ गते २१:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology