वीरकोटमा तीन दिने आधारभूत पत्रकारिता तालिम शुरु

अनिसा झेंडी/विक्रम पंगेनी
प्रकाशित : २०७७ चैत १३ गते २१:११

चैत १३,वीरकोट,पाल्पा

पूर्वखोला मिडिया प्रा.लि.द्वारा समाचार संकलन,लेखन र सम्पादन सम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ३ (तीन) दिने आधारभूत पत्रकारिता तालिम आजदेखि वीरकोटमा शुरु भएको छ ।

तालिमको उद्घाटन गर्नुहुँदै पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले आमसञ्चारको महत्त्वको विषयमा प्रष्ट्याउनुभएको थियो । पूर्वखोला क्षेत्रमा संस्थागत मिडियाको स्थापना हुनु ज्यादै खुशीको कुरा भएको बताउनुहुँदै प्रमुख प्रशासकीय अधिकृत पनेरुले पूर्वखोला मिडिया प्रा.लि.का लागि स्थानिय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । “सञ्चार माध्यमप्रति जनताको धेरै विश्वास हुन्छ । हामी रेडियो सुन्छौं,किन सुन्छौं त भन्दा रेडियोले सहि सुचना दिन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले सञ्चारमाध्यमहरुले सहि सुचना मात्र दिनुपर्छ ।”उहाँले भन्नुभयो ।
कार्यक्रममा विशेष अतिथी पूर्वखोला-५,वीरकोटका वडा सदस्य याम बहादुर सारुले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे । सोही अवसरमा पाल्पा खोजखबर साप्ताहिकले प्रकाशन गरेको २०७८ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो । आगामी चैत्र १५ गतेसम्म सञ्चालन हुने तालिममा पाल्पाका विभिन्न स्थानीय तहहरुबाट ४० जना प्रशिक्षार्थीहरु सहभागी छन । उद्घाटन कार्यक्रम पूर्वखोला मिडिया प्रा.लि.,व्यवस्थापन समिति अध्यक्ष भरत सिंजालीको अध्यक्षता,कार्यकारी निर्देशक डिल्लीराज पंगेनीको स्वागत र तालिम संयोजक अमृत काम्मु मगरको सञ्चालनमा चलेको थियोे । पहिलो दिनको प्रशिक्षण पत्रकार डोलराज वि.क.ले सहजीकरण गर्नुभएको थियो ।


प्रकाशित : २०७७ चैत १३ गते २१:११


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology