पूर्वखोला मिडिया प्रा.लि.ले सञ्चालन गरेको आधारभूत पत्रकारिता तालिम सम्पन्न

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ चैत १५ गते २१:५३

पूर्वखोला मिडिया प्रा.लि.,पूर्वखोला,पाल्पाले सञ्चालन गरेको तीन दिने आधारभूत पत्रकारिता तालिम आज वीरकोटमा सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रमका मुल पाहुना पुर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा हुनुहुन्थ्यो । कार्यक्रममा बोल्नुहुँदै मूल पाहुना नुन बहादुर थापाले आफ्नो गाउँपालिकामा मिडिया स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । मिडियालाई देशको चौथो अंग मानेको कुरा बताउनुहुँदै थापाले सञ्चारमाध्यमहरुले सामाजिक,आर्थिक विकासमा पनि सकारात्मक भूमिका खेल्नुपर्ने अौंल्याउनुभयो । “सञ्चार माध्यमहरुले सहि सुचना दिनुपर्दछ,जनमानसमा दिगभ्रमित पार्ने,गलत सन्देश प्रवाह गर्ने सञ्चार माध्यमप्रति जनताको विश्वास घट्ने मात्रै होइन कानुनी रुपमा समेत दण्डित हुन्छ,तपाईंहरु त्यस कुरामा सजग रहनुस।” थापाले भन्नुभयो । फरक प्रसंगमा थापाले देशमा राष्ट्रिय पुनर्जागरण अभियानको शुरुवात गर्नुपर्ने बेला भएको बताउनुभयो । “कतिपय मान्छेहरु अष्ट्रेलिया र अमेरिका तिर बसेर सामाजिक सञ्जालहरुमा देशमा यस्तो भएन र उस्तो भएन भन्दै बस्नुहुन्छ । सिस्टम खराब भो,देश विकास भएन भनेर नकारात्मक टिप्पणीहरु मात्र गरेर बस्नुहुन्छ,म त भन्छु आउनुहोस् सिस्टम बनाउने हामीले हो,कस्तो बनाउने,के बनाउने भनेर हामी छलफल गरौं,सकेसम्म सुधारौं ।” उहाँले भन्नुभयो । देश विकासका लागि देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरु एकपटक जागृत भएर आफ्नो क्षमताअनुसारको योगदान गर्नुपर्ने बेला भएको थापाको संकेत थियोे । आवश्यक परे त्यसको नेतृत्व गर्न समेत आफू तयार रहेको उहाँले प्रष्ट पार्नुभयो । अर्का अतिथी पूर्वखोला गाउँपालिका वडा नं.-५,वीरकोटका वडा सदस्य कृष्ण प्रसाद श्रेष्ठले पत्रकारीता तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्न सके भविष्यका लागि राम्रो बाटो दिने भन्दै शुभकामना दिनुभयो। कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा उद्बुद्ध कलेज स्ववियु सभापति नवीन आचार्य,पूर्वखोला मिडिया सल्लाहकार संयोजक तीर्थ सारु लगायतले मन्तव्य राख्नुभएको थियोे । त्यस्तै सहभागीहरुका तर्फबाट फूलमाया पुलामी र सुशील बस्यालले बोलेका थिए । प्रशिक्षार्थी वक्ताहरुले आफूले सिकेको सिपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए । गत चैत १३ देखि १५ गतेसम्म सञ्चालित तालिममा पाल्पा जिल्ला अन्तरगत बगनासकाली,रम्भा,माथागढी,निस्दी,रामपुुर लगायत पूर्वखोलाका विभिन्न वडाका गरि ५० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियोे । तालिममा देव पचभैया,सुमन कार्की,डोलराज वि.क.लगायतले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रम संस्थाका अध्यक्ष भरत सिंजालीको अध्यक्षता,तालिम संयोजक अमृत काम्मुको सञ्चालनमा चलेको थियोे । कन्दरा न्युज डटकमका सम्पादक हरि बारघरेले स्वागत गर्नुभएको कार्यक्रममा सह-सम्पादक शुरेस देवकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यकारी निर्देशक डिल्लीराज पंगेनीले मिडियाको भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियोे । मिडियाको भाबी योजना प्रस्तुत गर्नुहुँदै निकट भविष्यमै कन्दरा न्युजको प्रिन्ट संस्करण प्रकाशन गर्ने तयारीमा रहेको पंगेनीले बताउनुभयो ।


प्रकाशित : २०७७ चैत १५ गते २१:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology