पूर्वखोला अध्यक्षकप सम्पन्न,उपाधी हेक्लाङलाई

अमृत काम्मु मगर
प्रकाशित : २०७७ चैत २८ गते २३:५४

चैत्र २८ / पूर्वखोला
प्रथम पूर्वखोला अध्यक्ष कप-२०७७ आज पाल्पाको रिङ्नेरहमा सम्पन्न भएको छ ।
पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा युवा तथा खेलकुद विकास समिती पूर्वखोला,पाल्पाको व्यवस्थापनमा आयोजित अध्यक्ष कप अन्तरगत वडा स्तरिय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता भएको हो । समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथी पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले खेलकुदले आपसी सद्भाव,माया,ममता बढाउने भन्दै यस्ता प्रतियोगितात्मक खेल कार्यक्रम हुनु अत्यन्त राम्रो भएको बताउनुभयो । “खेलले मानिसलाई शारीरिक मानसिक रुपमा स्वस्थ र तन्दुरुस्त मात्रै होइन अनुशासित पनि बनाउँछ ।” अध्यक्ष थापाले भन्नुभयो । फरक प्रसंगमा उहाँले संघियताले केन्द्रको अधिकार गाउँ-गाउँ सम्म पु-याएको बताउनुभयो । “नेपाल लामो समय राजनैतिक परिवर्तनको आन्दोलनमा फस्यो । जनताको लामो त्याग,तपस्या र बलिदानले जनताको अधिकार स्थापित भएको छ । अब विकास निर्माणको बेला हो । चुनावको बेला जे-जस्ता विचार आस्था भए पनि अब सबै जना आग्रह,पूर्वाग्रह त्यागेर देश विकासमा लागौं ।”प्रमुख अतिथी थापाले भन्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले यस प्रतियोगिताले जिल्ला,प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा पालिकाबाट खेलाडी छनौट गर्न सहज भएको बताउनुभयो ।
गत चैत्र २७ गतेदेखि शुरु भएको अध्यक्ष कपमा अन्तर वडा स्तरिय डबल ब्याडमिन्टन प्रतियोगितामा सहभागी २१ टिम मध्ये पूर्वखोला-३ रिङ्नेरहका गंगा काम्मु र विवेक न्यौपाने प्रथम,पूर्वखोला-५,वीरकोटका थमन सारु र सोम पल्ली द्वितीय तथा पूर्वखोला-३,रिङ्नेरहकै सविन भट्टराई र दल बहादुर सिंजाली एवं पूर्वखोला-५,वीरकोटका उत्तर सिंजाली र दिल बहादुर ढेंगाको समूह तृतीय भएका थिए । त्यस्तै गाउँपालिका भित्र रहेका ६ वटा वडाका ६ टिम सहभागी पुरुष भलिबल प्रतियोगितामा वडा नं.-६,हेक्लाङको टिम प्रथम,वडा नं.-४,देवीनगरको टिम द्वितीय र वडा नं.-१,सिलुवाको टिम तेस्रो भएको छ । सोही प्रतियोगिताबाट मण्डली कप सिलुवाका लागि ७ जना खेलाडीहरु छनौट गरि नाम समेत घोषणा गरिएको थियोे ।
युवा तथा खेलकुद विकास समिती,पूर्वखोलाका अध्यक्ष प्रेम दिसुवाको अध्यक्षता तथा सचिव विष्णु सारुको सञ्चालन सम्पन्न कार्यक्रममा सह-सचिव नवीन आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा हाँस्य कलाकारद्वय मिना बस्याल (कुकुर कराउने दिदी) र पुजन परियारको प्रस्तुति लगायत विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियोे ।


प्रकाशित : २०७७ चैत २८ गते २३:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology