एकै वर्षमा २८ करोड ६२ लाख रुपैयाँको तास भित्रियो, कोदो किन्दा साढे ६ करोड बाहिरियो

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ ७ गते २१:४८

भदौ ७, २०७८ सोमबार

काठमाण्डाै – गएको आर्थिक वर्षमा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास आयात भएको छ । आर्थिक वर्षा २०७७/०७८ मा एक करोड ३९ लाख ६९ हजार एक ३५ ‘बुक’ तास आयात भएको भन्सार विभागले जनाएको हो ।

यस्तै गएको आवमा तास आयातमार्फत १५ करोड ४८ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गएको आवमा पाँच करोड सात लाख ७१ हजार रुपैयाँ बढीको तास आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ३२ लाख ६७ हजार बुक तास आयात भएको थियो ।

यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा विशेष गरेर चीन, भारत, थाइल्यान्ड र मलेसियाबाट तास आयात हुने गरेको छ । नेपालमा जुवातास खेल्नुलाई गैरकानुनी मानिए पनि बर्सेनि करोडौँको तास आयात हुँदै आएको छ । तर नेपालमा तास आयातमा भने कुनै प्रतिबन्ध छैन ।

६ करोड ३३ लाखको कोदो आयात

भन्सार विभागका अनुसार गएको आवमा ६ करोड ३३ लाख १९ हजार रुपैयाँको कोदो आयात भएको छ ।

एक वर्षको अवधिमा १९ लाख नाै हजार तीन सय ७० किलोग्राम कोदो आयात भएको हो । नेपालमा कोदोको उत्पादन घट्दै जाँदा भारत, चीन लगायतका देशबाट कोदो आयात हुँदै आएको छ ।

कोदोबाट बन्ने परिकारलाई निकै स्वस्थ मानिए पनि उत्पादनमा प्राथमिकता नदिँदा बर्सेनि करोडौँ रुपैयाँको कोदो आयात हुने गरेको छ ।

गएको आवमा कोदो आयातमार्फत ३१ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ । यो खबर उज्यालो अनलाइनले लेखेको छ ।


प्रकाशित : २०७८ भदौ ७ गते २१:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology