लुम्बिनीमा एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ १५ गते २२:३६
१५ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् ।

मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी गराएकी छन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गर्नेछ

योसंगै नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा खाता खोलेको छ । यसअघि पाँच दल रहेकामा अब प्रदेश सभामा प्रतिनिधित्व राजनीतिक दलको संख्या ६ पुगेको छ । घर्तीले एमालेका अरु केही सांसद पनि एकीकृत समाजवादीमा आउन सक्ने दावी गरिन् ।

‘दुई–दुई पटक संसद विघटन गरेर प्रतिगामी बाटोमा हिँडेको एमाले भन्दा विचार, दृष्टिकोण, नेतृत्वको कार्यशैली सबै हिसाबले राम्रो लागेर एकीकृत समाजवादी रोजेकी हुँ’–घर्तीले अनलाइनखबरसँग भनिन् । उनले आफ्नो दलले लुम्बिनीमा चार दलीय गठवन्धनलाई समर्थन रहने र सरकारमा पनि जानसक्ने बताइन् ।

एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएपछि एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ ।

पार्टी विभाजनपछि दुबै दलले जनप्रतिनिधिहरुलाई आफूतिर तान्ने कसरत गरिरहेका छन् । ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ । अनलाइनखबरबाट ।


प्रकाशित : २०७८ भदौ १५ गते २२:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology