एमाले बिभाजनपछि पाल्पामा को कता ? (जनप्रतिनिधिहरुको नामावली सहित)

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ १६ गते १९:२२

पाल्पा । नेकपा एमाले विभाजनपछि पाल्पाको अवस्थाबारे धेरैको चासो छ । को को कता गए वा जादैछन् भन्ने बिषयबारे चर्चा परिचर्चा भएको छ । यद्यपी निर्वाचन आयोगले पार्टी रोज्नका लागि भदौ २२ गतेका लागि अन्तिम मिति तय गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि सबै एमालेमा
१० स्थानीय तह रहेको पाल्पाका ६ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख एमालेले जितेको थियो । एक पालिकामा उपप्रमुख गरी एमालेबाट १३ जना प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए ।

तानसेन नगरपालिका सहित, रिब्दीकोट गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका र र तिनाउँ गाउँपालिकामा प्रमुख तथा उपप्रमुख एमालेले जितेको थियो । त्यस्तै  बगनासकाली गाउँपालिकामा उपप्रमुख एमालेले जितेको थियो ।

एमालेबाटै निर्वाचित तानसेन नगरपालिका मेयर अशोक कुमार शाही एमालेका बिभिन्न कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुँदै आउनुभएको छ । तानसेनकै उपमेयर लक्ष्मीदेवी पाठक, तिनाउँ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र उपाध्यक्ष दमयन्ती थापा पनि एमालेमै रहेको बताउनुभएको छ ।

एमालेबाटै निर्वाचित रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी र उपाध्यक्ष लक्ष्मी खनाल, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागीरथी भट्टराई, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु उपाध्यक्ष रिताकुमारी अर्याल र बगनासकाली गाउँपालिका उपाध्यक्षमा सरस्वती चिदी पनि एमालेमै रहेको जनाउनुभएको छ । जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मिरा मरासिनी सहित सबै सदस्यहरु एमालेमै रहनुभएको बताइएको छ ।

यहाँका कुनै पनि स्थानीय तहका जनप्रतिनिधि एमाले फुटेर बनेको समाजवादीमा नलागेको एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले बताउनुभयो ।

केन्द्रीय सदस्य को कता ?
तत्कालीन नेकपा एमालेमा पाल्पाबाट पाल्पा १ का सांसद दल बहादुर राना, २ का सांसद सोमप्रसाद पाण्डे र युवा नेता ठाकुर गैरे केन्द्रीय सदस्यका रुपमा हुनुहुन्थ्यो । जसमध्ये पाल्पा १ का सांसद राना र युवा नेता गैरे एमालेमै रहनुभएको छ ।  त्यस्तै पुर्वमन्त्री समेत रहनुभएका पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेले अन्तिम समयमा नेकपा (एस) रोज्नुभएको छ ।

निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने समयसम्म पनि एमालेमै रहेको र एमालेलाई एक बनाउने र पार्टी फुट्न नदिने अडान राख्नुभएका पाण्डे सनाखतको दिन भने नेकपा (एस) तर्फबाट आयोगमा पुग्नुभएको थियो । यद्यपी उहाँलाई आयोगले संस्थागत मान्यता भने दिएको छैन ।

प्रदेशसभामा को कता ?
प्रदेशसभाको निर्वाचनमा पाल्पा एमालेबाट ३ जना निर्वाचित सांसद र १ जना समानुपातिक सांसद रहनुभएको थियो । निर्वाचित सांसदहरु नारायण आचार्य, डा. पुरनमान बज्राचार्य र युवराज खनाल निर्वाचित र रमा घर्ती समानुपातिकबाट सांसद हुनुभएको हो । जसमध्ये निर्वाचित आचार्य, बज्राचार्य र खनाल एमालेमै रहनुभएको छ । अर्का सांसद घर्ती यसअघि नेकपा (एस)को भेलामा सहभागी हुनुभएको थियो ।

को को देखिए नेकपा (एस) मा ?
नेकपा (एस) मा पाल्पाबाट राजेन्द्र लक्ष्मी गैरे केन्द्रीय सदस्यमा चयन भइसक्नुभएको छ । यसै साता पाल्पामा नेकपा (एस)ले गरेको भेलामा पूर्वसांसद यादवबहादुर रायमाझी, प्रदेश सांसद रमा घर्ती, साविक एमालेका सहसचिव कमल पाण्डे, नेताहरु लेखनाथ पोखरेल, चुरा गोदार र मोहन गैरेको सहभागीता रहेको बताइएको छ ।

बिभाजनको प्रभाव ज्यादै न्युनः एमाले
नेकपा एमालेले पार्टी बिभाजनको प्रभाव खासै नपरेको जनाएको छ । यता नेकपा (एस) ले भने केही दिनमा जिल्ला कमिटिको घोषणा गरिने जनाएको छ । पाल्पासमाचारबाट


प्रकाशित : २०७८ भदौ १६ गते १९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology