एसेम्बलको नाममा बजाजको बदमासी । सरकारसंग छुट,उपभोक्तासंग लुट

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ १७ गते १७:५७

भैरहवा/परासी,भाद्र १७

नेपालमै सवारी साधनको एसेम्बल गर्ने उद्योगलाई सरकारले प्रोत्साहन स्वरूप अन्तःशुल्कमा २५ प्रतिशत छुट दिन्छ । स्वदेशमा उद्योग धन्दा बढ्नु र सर्वसाधारणले पनि केही न केही सस्तोमा सवारी साधन पाउन भन्ने यसको ध्येय हो ।

तर, त्यही नीतिअन्तर्गत सरकारबाट अन्तःशुल्क ‘छुट’ को सुविधा पाएको हुलास अटोक्याफ्टले भन् महँगोमा बजाज मोटरसाइकल बेचिरहेको छ । उद्योगले सकारबाट ‘छुट’ पाएको छ, उपभोक्ता भने झन् लुटिएका छन् । प्रख्यात व्यापारिक घराना गोल्छा अर्गनाइजेसनको उक्त कम्पनीले एउटै मोटरसाइकलमा सबै खर्च कटाएर ५० हजारदेखि १ लाख रुपैयाँभन्दा बढीसम्म सर्वसाधारणबाट ‘नाफा’ लिँदै आएको छ । यसरी बजाजले दुईतर्फी रूपमा सरकार र उपभोक्ताबाट अनावश्यक लाभ लिइरहेको छ ।

मोटरसाइकल तयार गर्न लाग्ने सम्पूर्ण पार्ट पुर्जा टुक्राटुक्रा भएको अवस्था (कमप्लिट्ली नक्ड डाउन सिकेडी) मा भारतबाट आयात गरी यो व्यापारिक घरानाले उक्त पार्टपुर्जा जोडेर मोटरसाइकल तयार गरी बिक्री गर्दै आएको छ ।

यो व्यापारिक घरानाले बजाज पल्सर १५०, बजाज पल्सर १२५ नियोन, बजाज प्लाटिना १०० ई एस, बजाज पल्सर १५० टीडी, बजार एभेन्जर १६० स्ट्रिट एबीएस, बजाज पल्सर २२० एफ एबीएस र बजाज पल्सर १६० एनएस एबीएस मोडेलको पार्टपुर्जा ल्याएर मोटरसाइकल तयार गर्दै आएको छ । यस्तै बजाज डिस्कभर १२५ डिस्क, बजार डिस्कभर ड्रम, बजाज पल्सर २०० एनएस एफआई एबीएस, बजाज डिक्सभर १२५ एसटी, बजाज डोमिनार २५०, बजाज डोमिनार ४०० र बजाज एभेन्जर २२० क्रुज पनि नेपालमै उत्पादन गर्दै आएको छ । बजाज कम्पनीको विभिन्न मोडेल उत्पादन गर्दा गोल्छा समूहले कसरी ठगी गर्दै आएको छ, यो विषयमा ज्वलन्त उदाहरण हेरौं। भन्सार कार्यालय भैरहवाबाट प्राप्त कागजातअनुसार १५० सीसीको एक थान बजाज पल्सरको सबै पार्टपुर्जा भारतबाट खरिद गरी भन्सारसम्म भित्र्याउँदा ९२ हजार ४ सय ५४ रुपैयाँ (नेपाली) खर्च भएको छ । यसमा ढुवानी र बिमा १२ प्रतिशत शुल्क पनि जोडिएको छ । अब यसमा भन्सार शुल्क ३० प्रतिशत लाग्नुपर्ने हो । तर, एलसीमा कारोबार गर्दा गोल्छा समूहसँग भन्सार कार्यालयले भन्सार शुल्क २८.५० प्रतिशतका दरले २६ हजार ३ सय ४० रुपैयाँ असुल गरेको छ । यसपछि यसमा भन्सार सेवा शुल्कबापत ५ सय र २५ प्रतिशत छुटसहित अन्तःशुल्कबापत ३५ हजार ६ सय ४१ रुपैयाँ असुल गरिएको छ । यस्तै यसमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) बापत २० हजार १ सय ४२ रुपैयाँ असुलिएको छ । यसरी भन्सारमा लाग्ने सम्पूर्ण शीर्षकगत राजस्व जोड्दा ८२ हजार ६ सय ३३ रुपैयाँ हुन आउँछ ।

यसरी कुल भन्सार राजस्वसहित उक्त १५० सीसीको पल्सरको मूल्य भन्सार विन्दुमा १ लाख ७५ हजार ८८ रुपैयाँ कायम हुन्छ । आयात गरिएको पल्सरको सबै सामान जोडेर मोटरसाइकल तयार गरी गोल्छा अर्गनाइजेसनले उक्त १५० सीसीको बजाज पल्सरलाई उपभोक्ता मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ तोकेको छ । तयार भएको यो १५० सीसीको एक थान

पल्सरको उपभोक्ता मूल्यअन्तर्गत गोल्छा समूहले सडक मर्मत दस्तुरबापत यातायात विभागलाई १५ हजार रुपैयाँ पहिले नै तिरिसकेको हुन्छ । यस्तै उपभोक्तालाई बिक्री गर्दा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, मोटरसाइकल तयार पार्ने कामदारको खर्च र नाफासमेत जोडेर यो मूल्य कायम गरिएको हो । यसरी कायम गरिएको उपभोक्ता मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँबाट भन्सार विन्दुमा सबै खर्चसहित कायम भएको पल्सरको कुल मूल्य १ लाख ७५ हजार ८८ रुपैयाँ घटाउँदा ९९ हजार ८ सय १२ रुपैयाँ आउँछ ।

‘यसरी एक थान मोटरसाइकलमै अथाहा नाफा असुल्ने कम्पनीले सरकारबाट छुट लिएर आफू मोटाउँदै गएका छन् भने सरकार र उपभोक्तालाई सोझै लुटेका छन्,’ उपभोक्तावादी ज्योति बानियाँले भने, ‘स्वदेशी उद्योगको नाममा छुट लिएर लुट गर्दै आएको उद्योगलाई कानुनी दायरामा ल्याउनुपर्छ । मोटरसाइकलमा यतिसम्मको लुट धन्धा हुँदोरहेछ थाहा थिएन।’

पार्टपुर्जा जोडेर मोटरसाइकल उत्पादन गर्न गोल्छा समूहको हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडअन्तर्गत गत आर्थिक वर्ष २०७१ उद्योग विभागमा हुलास अटो क्राफ्ट प्राइभेट लिमिटेड भनेर कम्पनी नै दर्ता गरेका थिए । पूर्ण स्वदेशी लगानी गर्ने प्रतिबद्धतासहित गोल्छा घरानाले यो कम्पनीले २४ करोड रुपैयाँ लगानी गरेको थियो ।

सबैलाई अनुमति पनि छैन

यो कम्पनीमार्फत १२५ सीसी (ड्रम) को ४ हजार थान, १२५ सीसी (डिस्क) को ४ हजार थान र १५० सीसीको १० हजार थान बजाज ब्रान्डको मोटरसाइकल उत्पादन गर्ने उद्योग विभागमा दर्ता गरेको कम्पनीको विवरणमा उल्लेख छ यो कम्पनीको कारखाना नवलपरासीको रामग्राममा छ । तर, बजाज कम्पनीका सबैजसो मोडलका मोटरसाइकल अवैध ढंगले उत्पादन गर्ने गरिएको पाइएको छ भारतमा हाल उत्पादन बन्द भएको डिस्कभरको पनि यो समूहले नेपालमा उत्पादन

गर्दै आएको छ महालेखा परीक्षकको कार्यालयले पनि यो विषयलाई गम्भीरताका साथ उठान गरेको छ । सस्तो मूल्यमा बिक्री गर्ने भन्दै नेपालमै मोटरसाइकल उत्पादन गर्न करोडौं राजस्व छुट लिएर बजाज मोटरसाइकलमा उपभोक्ता ठगिएको विषयलाई महालेखा परीक्षकको कार्यालय हालै सार्वजनिक गरेको २०७६ ७७ को प्रतिवेदनले पनि खुलासा गरेको छ। नेपालमै एसेम्बल गरी उपभोक्तालाई

सुलभ मूल्यमा उपलब्ध गराउने भन्दै गोल्छा समूह बजाजको पार्टपुर्जा नेपाल भित्र्याउन एक वर्षमा ७६ करोड ७० लाख ४७ हजार रुपैयाँ राजस्व छुट लिएको भेटिएको हो

गोल्छा समूहले आर्थिक वर्ष २०७६ ७७ मा भैरहवा भन्सार कार्यालयबाट मात्रै उक्त छुट पाएको छ । भैरहवा भन्सार कार्यालयबाट बजाजका मोटरसाइकलहरू कम्प्लिटली नक्डडाउन (सिकेडी) अवस्थाका उल्लेख गरी ५ अर्ब २८ करोड २५ लाख ८ हजार मूल्यको आयात गरेको थियो। ‘भन्सार जाँचपासका क्रममा अन्तःशुल्कअन्तर्गत ६७ करोड ८८ लाख २ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत ८ करोड ८२ लाख ४४ हजार गरेर ७६ करोड ७० लाख ४७ हजार राजस्व छुट लिएको देखिन्छ,’ उक्त प्रतिवेदनमा उल्लेख छ ।

गोल्छा समूहले सरकारलाई उपलब्ध गराएको वित्तीय विवरणमा एक विदेशी कम्पनीका मोटरसाइकल सिकेडी अवस्थामा ल्याई एसेम्बल गर्दा ३.८१ प्रतिशत मूल्य अभिवृद्धि भएको देखिन्छ । सरकारले आयातकर्तालाई लाग्ने अन्तःशुल्कमा २५ प्रतिशत छुट दिएको छ । ‘सरकारले दिएको राजस्व छुट बराबरको पनि मूल्य अभिवृद्धि नहुँदा राजस्व छुटको लाभ आयातकर्ता कम्पनीले मात्र लिएको देखिएको हो,’ प्रतिवेदनमा उल्लेख छ । यो प्रणालीले अर्थतन्त्र एवं उपभोक्तालाई योगदान नपुगेको प्रतिवेदनले औंल्याएको छ । अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमा छुट दिए पनि तयारी मोटरसाइकल आयात गरेको भन्दा कम मूल्यमा सर्वसाधारणले खरिद गर्न सक्ने अवस्था नभएकाले एसेम्बल प्रणाली ने औचित्यपूर्ण नभएको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ ।

नेपालबाट निर्यात हुने मालवस्तुमा निर्यातको सुविधा प्राप्त गर्न कम्तीमा १० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्छ । साफ्टाअन्तर्गत रुल अफ ओरिजिन प्रिन्सिपलमा सम्बन्धित देशको उत्पादन हुन ४० प्रतिशत मूल्य अभिवृद्धि भएको हुनुपर्छ । यो सिद्धान्त रहेको अवस्थामा न्यूनतम पनि सरकारबाट दिएको छुट बराबर वा सोभन्दा बढी मूल्य अभिवृद्धि भएको अवस्थामा मात्र छुट दिने गरि राजस्व पुनरावलोकन हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

अनुमति एउटा आयात अर्को

अनएसेम्बल्डअवस्थाका मोटरसाइकल आयात गरी स्वदेशमा उत्पादन गर्न दर्ता भएको हुलास अटोक्राफ्ट कम्पनीले भैरहवा भन्सारबाट अनएसेम्बल्ड मोटरसाइकलका साथै अनेकौं किसिमको विभिन्न सामग्री पनि आयात गर्दै आएको पाइएको छ । अनएसेम्बल्ड मोटरसाइकल बाहेक अन्य कुनै सामग्री आयात गर्न हुलासलाई अनुमति छैन । तर, उसले भन्सारबाट बजाज कम्पनीको तीनपाङ्ग्रे अटोरिक्सा, मार्बल, ग्रेनाइट डाइनोमिटरलगायत सामग्री पनि आयात गरेको पाइएको छ ।

यो समाचार अन्नपूर्ण पोष्ट(२०७८ भाद्र १७) का लागि राजेश बर्मा र सलमान खानले तयार पारेका हुन ।


प्रकाशित : २०७८ भदौ १७ गते १७:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology