खेम सेञ्चुरी र कमला घिमिरेको “हान्छु तिम्लाई लौरीले” गीत बन्द गर्न माग

अमृत काम्मु मगर
प्रकाशित : २०७८ भदौ २८ गते १८:५२

काठमाण्डौं,भाद्र २८

“बनाउँछ होला गुलियो मह,तोरी खायो मौरीेले
जे भने पनि मान्दिनौ अहँ,हान्छु तिम्लाई लौरीले”
चर्चित लोकदोहरी गायक खेम सेञ्चुरी र बालगायिका कमला घिमिरेले गाएको यो गीत सुन्नुभएकै होला । तर बजारमा निकै चर्चा बटुल्न सफल यो गीत बन्द गर्न माग गरिएको छ । हालै मौरीपालक कृषकहरुको संस्था नेपाल मौरीपालक महासंघले सो गीतका शब्दहरुप्रति आपत्ति जनाउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ ।


महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा गीतका शब्दहरुले मौरीले तोरी खाएर विनाश गर्छन् भन्ने गलत आशय सम्प्रेषण गर्ने भन्दै विरोध जनाएको छ । मौरीले बालीनाली बिगार्ने होइन,बरु झन उत्पादन वृद्धिमा मद्दत गर्छ विज्ञप्तिमा भनिएको छ । वैज्ञानिक तथ्यहरुलाई खेलवाड गरेर भ्रम फैलाएकोले कानुनी कारबाही गर्न समेत महासंघले माग गरेको छ । नेत्र अर्यालको शब्द तथा खेम सेञ्चुरीको संगीतमा तयार भएको “हान्छु तिम्लाई लौरीले” नामक गीत २ महिना अगाडी सार्वजनिक भएको हो । हालसम्म ३६ लाख भन्दा बढी भ्युज पाएको यो गीतको विवादित चर्चासंगै फेरि भ्युज बढ्ने निश्चित छ ।


प्रकाशित : २०७८ भदौ २८ गते १८:५२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology