लगातार पानि परेपछि धान बालिमा क्षति विज्ञ के भन्छन्

कन्दरा सम्बाददाता
प्रकाशित : २०७८ कार्तिक ३ गते १७:५०

काठमाण्डौ – लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुबेको छ । कतै बगाएको छ भने केही ठाउँमा हावाहुरीसँगैको पानीले धान ढालेको छ ।

भित्र्याउने अवस्थामा रहेको हजारौँ हेक्टर खेतको धानबाली नोक्सान भएको छ । पसाउने बेलामा ढलेको धानमा बाला नलाग्ने समस्या हुन्छ । मनसुन सकिएपछि परेको पानीले धानबालीमा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । काटेर खेतमा उठाउन छुटेको धान बिग्रने चिन्ता छ । बाला पानीमा चुपुक्कै डुबेको छ । पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा हुने भएकाले उत्पादन घट्ने र लगानी डुब्ने किसानको चिन्ता छ ।

पानीमा भिजेको धान कुट्दा टुक्राटुक्रा पर्ने र खान नमिल्ने हुन्छ । काटेको धान भिज्दा धानमा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने हुन्छ । काटेर खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतमै छेउमा ठूलो खाडल बनाएर पानी तर्काउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काे राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक सुशील सुवेदीले बताउनुभयो । धान ढलेको खेतमा पानी जम्न नदिन निकासको व्यवस्था गर्न सकिन्छ । धानको बालालाई जोगाउन सके पनि धेरै नोक्सानी बेहोर्न नपर्ने उहाँको भनाइ छ । साथै एक/दुई दिनपछि घाम लागेमा एक/दुई घाम सुकाएर चुट्न पनि वैज्ञानिक सुवेदीको सुझाव छ ।

खेतको छेउ वा भित्तामा बाला राख्ने, पानी भरिएको खेतमा पानीको निकास बनाउने र चिस्यान कम गर्न सके धेरै क्षति हुन नपाउने वैज्ञानिक सुवेदीले बताउनुभयो । ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्छ । अहिले नै कुन्यु बनाएर राख्दा गन्ध आउने भएकाले ओभानो ठाउँमा फिँजाएर राख्नुपर्नेमा उहाँको जोड छ । धान पाकेको अवस्था भए पनि केही दिन नकाट्न पनि वैज्ञानिक सुवेदीको सुझाव छ । उहाँका अनुसार पानी रोकिएपछि राम्रोसँग सुकाएर भित्र्याउन सकेमा धानमा हुने क्षति कम गर्न गर्न सकिन्छ ।

स्राेत उज्यालाे

 


प्रकाशित : २०७८ कार्तिक ३ गते १७:५०

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology