समाजवादी का नेता पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको प्रस्ताव

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते १८:१६

 

बागमती प्रदेशमा रहेका विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अगाडि सारेका छन्।

आज प्रदेश सभामा बोल्दै नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी गराएका छन्।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि बोलेका माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गर्ने निर्णय भएको प्रदेश सभामा बताएका हुन्।

नेकपा एमालेकी नेतृ शाक्य मुख्यमन्त्री भएको दुई महिना भएको छ। उनी अल्पमतमा परेकी छिन्।

उनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसकिने पनि बताए। ‘उहाँलाई मतदान गर्न सकिँदैन,’ जमरकट्टेलले भने, ‘उहाँलाई हामीले समर्थन गर्न सक्दैनौं। विश्वासको मत पास हुन्न। गठबन्धनको स्पष्ट बहुमत छ।’

साथै प्रदेश सभामा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्र बानियाँले गठबन्धनलाई चुनावसम्मै निरन्तर रूपमा लगिने बताए। प्रदेशमा रहेको एमालेको एकलौटी सरकारले प्रभावकारी ढंगले काम नगरेको आरोप उनको थियो।

‘केन्द्रदेखि यहाँसम्म गठबन्धन छ, मार्गप्रशस्त गरिदिएको भए हुन्थ्यो,’ बानियाँले भने, ‘यथाशीघ्र यो प्रक्रिया टुंग्याउन सभामुख पनि लाग्नुस्।’ प्रदेश सभामा बहुमत हुन ५५ जना भए पुग्नेमा ५९ जना पुगिसकेको बानियाँको भनाइ छ।

कांग्रेस गठबन्धनप्रति इमान्दार भएको पनि उनले बताए। उनले कसैलाई पनि दम्भ गर्न आग्रह गरेका छन्। उनले एमालेलाई सत्यको बाटो हिँड्न पनि आग्रह गरेका छन्। ‘अहिलेको मुख्यमन्त्रीलाई हाम्रो साथ छैन,’ उनले भने।

यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीमा गठबन्धनबाट प्रस्तावित रहेको प्रदेश सभामा जानकारी गराएका छन्।

 


प्रकाशित : २०७८ कार्तिक ४ गते १८:१६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology