एमालेले चितवनमा हुने दशौँ महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्ने

Kandara News
प्रकाशित : २०७८ कार्तिक ५ गते १८:२३

प्रमुख प्रतिपक्षी नेकपा एमाले आगामी मंसिर १०-१२ मा चितवनमा गर्न लागिएको १० औँ महाधिवेशन उद्घाटनका क्रममा ५ लाख नेता-कार्यकर्ता उतार्ने योजना बनाएको छ।  महाधिवेशनमा देशभरबाट करिब पाँच लाख नेता कार्यकर्ता सहभागी हुने नेकपा एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए।

‘अबको एक हप्ताभित्र महाधिवेशन खुला र बन्द सत्र कहाँ गर्ने भनेर स्थान निर्धारण गरी केन्द्रमा पठाउँछौँ’, उनले भने, ‘सम्भाव्य क्षेत्र खोजिरहेका छौँ। सकभर भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ। महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान छ। त्यसका लागि नारायणी किनार या अन्य ठाउँ हेर्दैछौँ।’ महाधिवेशन आयोजकमध्ये एक एमाले चितवन जिल्ला कमिटीले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी १० औँ महाधिवेशनले मुख्य गरी दुईवटा सन्देश दिने जनाएको छ।

अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै देशको ठूलो पार्टी भएको सन्देश दिइने एमालेको स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशीनाथ अधिकारीले बताए। ‘अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो’, उनले भने, ‘देशको नेतृत्व गर्ने एमालेले नै हो। महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिने छौँ।’ १०औँ महाधिवेशनको खुलासत्र र बन्द सत्रस्थलबारे अहिलेसम्म एमालेले टुंगो लगाइसकेको छैन। एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले चितवनमा १०औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। पोखरेलले एमालेमा नवीकरण गर्ने सदस्यको सङ्ख्या सात लाख छ।

 


प्रकाशित : २०७८ कार्तिक ५ गते १८:२३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology