शिक्षामन्त्री पौडेल नेतृत्वको टोलीले गर्‍यो आयोग र केन्द्रको अवलोकन १०० दिन भित्र नतिजा आउने गरी काम गर्न निर्देशन

Kandara News
प्रकाशित : २०७८ कार्तिक ५ गते १८:२९
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आज सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण एवं अवलोकन गरेको छ ।
सो क्रममा बोल्दै शिक्षामन्त्री पौडेलले निरीक्षणका क्रममा कर्मचारीलाई १०० दिन भित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले आफू पनि मन्त्री नभई कर्मचारी भएर दिन रात काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुर्सीमा मात्र बस्ने नभई संस्था सुधार्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
शिक्षामन्त्री पौडेलले मन्त्री पद अलौकिक नभएको बताउँदै संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न लाग्ने बताउनुभयो । जागिर खानु व्यक्तिगत जीवनयापनको आवश्यकता मात्र नभई देश र समाजप्रतिको कर्तव्य भएको उहाँको भनाई थियो ।
शिक्षामन्त्री पौडेलले कर्मचारीले हुने र गर्न सक्ने काम चुस्त रूपमा गर्नुपर्ने र हुनै नसक्ने काम छोडिदिनुपर्ने बताउनुभयो ।
काम गर्दा सबै सङ्कल्पकृत भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले काम गर्ने क्रममा आइपर्ने समस्याका गाँठा फुकाउन आफूले समन्वय गर्ने बताउनुभयो ।
उहाँले आयोग र केन्द्र दुवै कार्यालयलाई ३ महिने,एक बर्से र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिनुभयो । शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले कार्य योजना अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिँदै सहजीकरणको लागि पहल गर्ने बताउनुभयो ।
उहाँले कर्मचारीले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिँदै कर्मचारीलाई मन्त्रालयको सहयोग रहने तर कर्मचारीको पनि उत्तिकै सहयोग जरुरी रहेको बताउनुभयो । सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले भौतिक पूर्वाधार,जनशक्ति अभाव र कर्मचारी सरुवाका कारण आयोगलाई काम गर्न समस्या भएको बताउनुभयो ।
आयोगले चिकित्सा शिक्षा क्षेत्रमा रहेका बेथितिलाई थितिमा ल्याउन काम गरिरहेको बताउँदै गुणस्तरीय जनशक्ति उत्पादनका लागि राष्ट्रिय नीति सबै तहमा एकैरुपमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।
मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणी पौडेलले शिक्षामन्त्री पौडेल, राज्यमन्त्री यादव र शिक्षा सचिव थपलियाको निर्देशन पालना गर्ने बताउनुभयो । उहाँले केन्द्रले शिक्षाको क्षेत्रमा टेलिभिजन सञ्चालन गर्ने सोच लिएको बताउँदै यस वर्ष नमुना विद्यालय र प्राविधिक विद्यालयलाई दिइने बजेटमा भने कटौती भएको जानकारी दिनुभयो ।
बेग्लाबेग्लै भएको स्थलगत अवलोकन कार्यक्रममा आयोगका सदस्य सचिव डा.भोजराज काफ्ले र मानव स्रोत विकास केन्द्रका उपनिर्देशक केशवप्रसाद दाहालले सम्बन्धित कार्यालयले गर्दै आएको काम, समग्र अवस्था ,सम्भावना र समस्याका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
हिजो मात्र शिक्षामन्त्री पौडेल नेतृत्वको टोलीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरेको विभिन्न कार्यक्रम र प्रविधिको अवलोकन गर्दै कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभइ आवश्यकताका आधारमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

प्रकाशित : २०७८ कार्तिक ५ गते १८:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology