केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्न प्रस्ताव
काठमाण्डौ,१० कार्तिक ।
नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्न प्रस्ताव गरेको छ । बुधबार बसेको निर्वाचन समितिको बैठकले रोकिएको वडा अधिवेशनहरु कार्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।
प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते र केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।
पार्टी नेतृत्वलाई नयाँ कार्यतालिका प्रस्ताव गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
समितिले महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरेको जनाउदै संयोजक यादबले पार्टीले सहमति जनाए नयाँ कार्यतालिका प्रकाशित गर्ने बताए ।
पछिल्लो पटक संशोधित तालिकाअनुसार कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनुपर्ने थियो । त्यसअनुसार १८ असोजमा सुरु भएको वडा अधिवेशन अझै सकिएको छैन ।
१३ जिल्लामा जिल्ला तहसम्मै अधिवेशन भइसकेको छ भने ५१ जिल्लामा स्थानीय तहसम्म अधिवेशन भएको छ । तर १३ जिल्लामा वडा अधिवेशन नै भएको छैन । त्यसमा पनि दुई जिल्ला (रौतहट र रसुवा) को क्रियाशील सदस्यता विवाद नै टुंगिएको छैन ।
क्रियाशील विवादका कारण तोकिएको समयमा महाधिवेशन नहुने भएपछि मंगगलबार भएको छलफलमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका थिए ।
प्रकाशित : २०७८ कार्तिक १० गते २१:३८
Facebook Comment