निरन्तर मेहनतले सफल पाल्पाली लोकदोहरी गायिका श्रीदेवी देवकोटा

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ माघ ७ गते १२:५४
श्रीदेवी देवकोटा ६ कक्षामा पढ्थिन् । गाउँमै आयोजना भएको कार्यक्रममा गीत गाउन नाम लेखाइन् । कार्यक्रममा सहभागी श्रीदेवीले विधवासम्बन्धी गीत गाइन् । उनको गीत सुनेर धेरै मान्छे रोए । श्रीदेवीले स्टेजबाटै देखिन्, आमा र ठूलीमा पनि गीत सुन्न आएका रहेछन् र उनीहरूको पनि आँखामा आँसुु थियो । आमाको आँखामा आँसु देखेपछि श्रीदेवीका पनि आँखा रसाए ।

उनलाई अहिले पनि सम्झना छ, त्यही कार्यक्रम उनको गायनका लागि अगाडि बढ्ने एउटा आधार बन्यो । किनकि, उक्त कार्यक्रममा उनको स्वरको तारिफ गर्नेहरू धेरै थिए । पाल्पाको पूर्वखोला-२,जल्पामा जन्मिएकी हुन्, श्रीदेवी । स्कुल पाल्पामै पढिन् । स्कुलमा हुने हरेक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन्थिन् ।

पढाइमा पनि ‘टप टेन’ विद्यार्थीमा पर्ने भएकाले शिक्षकहरूले उनको गायन कलालाई सकारात्मक रूपमा लिए ।कान्छी छोरी अलि पुल्पुलिएकी थिइन् । भारतमा बैंकमा काम गर्ने बालाई छोरीले गीत गाएको खास मन पर्दैनथ्यो । तर, आमा सपोर्ट गर्थिन् । ‘बा जहिल्यै पढ मात्रै भन्नुहुन्थ्यो,’ श्रीदेवीले भनिन् । छोरीलाई पढ भने पनि बाको गीतप्रतिको लगाब भने गज्जब थियो ।

अडियो क्यासेटको जमाना थियो । बजारमा नयाँ एल्बम आउनेबित्तिकै बाले किनेर ल्याइदिन्थे । तिनै गीत सुनेर गाउँथिन् श्रीदेवी । १० कक्षासम्म गाउँमै पढेकी श्रीदेवीलाई थाहा थियो । गाउँमै पढेर गायिका बन्न सकिँदैन । बालाई भन्थिन्, ‘म क्याम्पस पढ्न काठमाडौं जान्छु ।’ बाले नाइँ त भनेनन् तर बीएसम्म पाल्पामै पढे हुन्थ्योझैं गरे ।

श्रीदेवीको जिद्दीका अगाडि बाले हारे, उनले जितिन् र काठमाडौं आइन् । काठमाडौं आएलगत्तै पढाइसँगै संगीत सिक्न थालिन् । गाउँमा हुँदा अरूका गीत सुनेर गाउने श्रीदेवीलाई संगीतको कखरा मात्रै सिक्नु थिएन । आफ्नै मौलिक गीत गाउनु पनि थियो । ६ महिना भोकल क्लास लिएपछि गीत रेकर्ड गराइन्, शिरमा सिउँदो छ । राजु परियार र खुमन अधिकारीसँग पञ्चेबाजा गीत गाइन्, राम्रै चर्चा पायो ।

सुरुमा अरूकै गीतमा स्वर भर्दै आएकी श्रीदेवीले जब गीत गाएर केही पारिश्रमिक पाइन् । उनलाई लाग्यो, अब आफ्नै लगानीमा केही गर्नुपर्छ । ‘अरूको गीत गाएर पारिश्रमिक लिने होइन । आफैंले लगानी गरेर नाफा खानुपर्छ भन्ने लाग्यो,’ श्रीदेवीले भनिन् । अहिलेसम्म उनको स्वरमा पाँच सय बढी गीत रेकर्ड भएका छन् भने आफ्नै लगानीमा ६० बढी एल्बम सार्वजनिक भएका छन् ।


प्रकाशित : २०७८ माघ ७ गते १२:५४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology