आगामी निर्वाचन सम्म गठबन्धन आवश्यक-राष्ट्रियसभा सदस्य गैरे

रमा भण्डारी
प्रकाशित : २०७८ माघ १६ गते २०:३४

माघ १६ ,रामपुर पाल्पा
राष्ट्रियसभाका नव निर्वाचित सदस्य एवं एकिकृत समाजवादीका केन्द्रिय सदस्य राजेन्द्रलक्ष्मी गैरेले अहिलेको पाँच दलिय गठबन्धन आगामी चुनावसम्मै आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएपछि पाल्पाको रामपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै गैरेले आफु सरकारमा हुँदा सदन मै नजाने र अहिले पनि सदन चल्नै नदिने प्रवृति नेकपा एमाले अध्यक्ष ओलीले देखाएको भन्दै यसले मुलुकलाई अझै अस्थिरता तर्फ धकेल्न चाहेको प्रष्ट देखिएको बताउनुभयो । उहाँले अहिले लुम्बिनी प्रदेशमा एकिकृत समाजवादीको अवस्था कमजोर देखिए पनि निर्णायक शक्तिको रुपमा पुगिसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ” हामी एक्लै जित्न नसके पनि एमालेलाई हराउन सक्नेमा हामी पुगेका छौं । गठबन्धन हुँदा सबै ठाउँमा हामीले जित्ने अवस्था छ । त्यसैले प्रतिगमनकारीलाई पछार्नका निम्ती हाम्रो गठबन्धन स्थानीय निर्वाचन देखि लिएर संघको निर्वाचन सम्म संयुक्त रुपमा जानुपर्छ ।” उहाँको भनाई थियो । उहाँले आफुहरुलाई पार्टीको माया भए पनि नेतृत्व गर्ने मानिसहरु गलत हुनाले एमाले छाड्नु परेको बताउनुभयो । गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीय देखि संघको निर्वाचन सम्म गठबन्धन संयुक्त रुपमा जानुपर्ने बताउनु भएको छ ।
गैरेले आफ्नो लामो राजनैतिक जीवन नेकपा एमालेमा बिताएको स्मरण गर्दै भन्नुभयो, ” मैले पाल्पामा एमालेका लागि ठूलो त्याग र संघर्ष गरेको छु । आफु राष्ट्रिय सभा सदस्य बन्छु भनेर होईन पार्टी भित्रका गलत कुरालाई फाल्नु पर्छ र जनताको पक्षमा उभिनु पर्छ भनेर हामी उभिएका हौं । पार्टीलाई विधि र पद्धतीमा नभै ओलीले दम्भको भरमा चलाएकाले अहिलेको अवस्था सृजना भएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन संविधानलाई बचाउन र समाजबाद स्थापनाका लागि भएको धारणा राख्नुभयो । मन्तव्यको क्रममा आफुलाई निर्वाचित गराउन सहयोग गर्ने गठबन्धन र अन्य दलका सबैलाई धन्यवाद दिदै जनताको समृद्धि, आधारभूत आवश्यकताको परिपूर्ति र विकास निर्माणको लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख एवं कांग्रेसका महासमिति सदस्य रमण बहादुर थापाले मुलुकको विकास र राजनैतिक स्थायित्वका लागि समन्वय र सहकार्यको आवश्यक रहेको बताउनुभयो । थापाले संविधानको रक्षाको लागि जसरी दलहरु गठबन्धन गरेर अघि बढे त्यसरी नै जनताको भावना र मर्म अनुसार काम गर्नका लागि गठबन्धनलाई कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेकपा एकिकृत समाजबादीका केन्द्रिय सल्लाहाकार लेखनाथ पोखरेलले संविधानको संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै गठबन्धनको तर्फबाट विजयी भए पनि पार्टी भन्दा माथि उठेर अघि बढ्न गैरेलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सचिव चिरन्जीवि सिग्देलले चुनौतिलाई अवसरको रुपमा बदल्दै अघि बढ्न आग्रह गर्नुभयो । नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतमले नेकपा एमालेमा रहँदा होस् या अहिले समाजवादी रहँदा आफु जहिल्यै विकासको लागि लड्दै आएको बताउनुभयो । राजनैतिक परिवर्तनको आन्दोलन सकिएकाले अबको यात्रा आर्थिक समृद्धि तर्फ हुनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष पदम पौडेलले प्रतिगामी कदमका विरुद्ध गठबन्धन बनेको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
बेझाँड नहर अफिसमा भएको कार्यक्रम नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटी अध्यक्ष यम बहादुर सुनारको अध्यक्षता र नेकपा एकिकृत समाजवादी रामपुरका सचिव विष्णु प्रसाद लम्सालको सञ्चालनमा भएको थियोे ।


प्रकाशित : २०७८ माघ १६ गते २०:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology