तानसेनमा क्रियाशिल पाँच दलिय गठबन्धनले तानसेन नगरपालिकालाई ७ बुँदे ध्यानाकर्षण गरायो

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ माघ २४ गते १७:५६

तानसेन,माघ २४
पाल्पा जिल्लामा क्रियाशिल पांच दलिय गठबन्धनमा आबद्ध तानसेन नगरस्तरीय प्रमुखहरूको बैठकले तानसेन नगरभित्रका विविध समस्याहरूप्रति तानसेन नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
सात वटा बुँदामा बुँदागत रुपमा नगरभित्रका विभिन्न समस्याहरुको सम्बोधन गर्नुपर्ने माग गरिएको विज्ञप्तिमा नेपाली काँग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी,राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका नगर प्रमुखहरूले हस्ताक्षर रहेको छ ।
प्रेश विज्ञप्ति
मिति : २०७८/१०/२४
आदरणीय तानसेन नगरबासी दाजुभाइ दिदी बहिनीहरू,
पाल्पा जिल्लामा कृयाशिल पांच दलिय गठबन्धनमा आवद्ध हामी तानसेन नगरस्तरीय प्रमुखहरूको बैठकमा तानसेन नगरभित्रका तपशिलका विविध समस्याहरूप्रति ध्यानाकर्षण एवं छलफल भएको छ । नगरभित्रका समस्याहरू समाधान हुनुको सट्टा दिनप्रतिदिन थपिदै जानाले नगरवासीको जीवनयापन थप कष्टकर हुँदै गएकाले सोको समाधानका लागि सहयोग गर्न सम्पूर्ण नगरवासी दाजुभाइ दिदी बहिनीलाई हार्दिक अपिल गर्दछौं ।
१. तानसेन नगरबासीहरू खानेपानीको अभाव, वितरणमा हुने अनियमितता, लामो समयसम्म उपभोक्ता समिति पूनर्गठन नहुनु जस्ता समस्याबाट ग्रस्त भएकाले ती समस्याहरूको समाधान गर्न तानसेन नगरपालिका तथा सम्वन्धित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।
२. नेपाल सरकारको ठूलो लगानीबाट निर्माण भएको ल्यान्डफिल्ड साईट प्रयोगविहिन भएको छ । वनदेवी लगायत स्थानहरूमा जथाभावी फोहर फाल्नाले नगरवासीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न गएकाले नगरवासीको चाहना बमोजिम वनदेवीमा जथाभावी फोहर फाल्न रोक्न र वातावरणीय
प्रभावलाई समेत ख्याल गरी ल्यान्डफिल्ड साईटलाई प्रयोगमा ल्याउन सम्बन्धित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।

३. तानसेन नगरभित्रका पर्यटकिय गन्तव्यहरू रानीमहल, श्रीनगरडांडाको संचालनमा भएको अपारदर्शिता लगायत निर्माणाधिन नयाँ बसपार्कको व्यवस्थापनमा भएको अपारदर्शिताप्रति हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।
४. तानसेन नगरभित्रको ट्राफिक व्यवस्थापन तथा सवारी पार्किङ्गको व्यवस्थापनप्रति हामी ध्यानाकर्षण गराउन चाहन्छौ ।
५. वर्षीदेखि अलपत्र अवस्थामा रहेको तानसेन वाघखोरमा रहेको शितभण्डार तत्काल सुचारू गर्न हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।
६. तानसेन नगरपालिकाबाट प्रवाह हुने सेवाहरू तथा विकास निर्माणमा भएका खर्चहरूमा पारदर्शिता नरहेको जनगुनासो आईरहेको र जिल्लामै बेरुजु बढी हुने स्थानीय तहमा गणना भएको सन्दर्भमा सेवा प्रवाह तथा विकास निर्माण पारदर्शी बनाउन सम्बन्धित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।
७. तानसेन नगरपालिकाबाट विनियोजन हुने हरेक आर्थिक वर्षका वजेटमा राजनैतिक दललाई आधार मानी वडाहरूलाई गरिने पक्षपातपूर्ण व्यवहारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सो पक्षपातपूर्ण व्यवहार सच्याउन ध्यानाकर्षण गराउन चाहन्छौ ।

सुवर्ण मुनी शाक्य
सभापति,नेपाली कांग्रेस

प्रतिक्षा सिंजाली
अध्यक्ष,नेकपा(माओवादी केन्द्र)

रामकृष्ण कार्की
अध्यक्ष,नेकपा (एकीकृत समाजवादी)

टिकाराम पौडेल
अध्यक्ष,राजमो तानसेन

संजय राना
सचिव,जनता समाजवादी पार्टी


प्रकाशित : २०७८ माघ २४ गते १७:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology