निस्दीको ज्यामिरेको हुबासमा पहिलो पटक बिजुली बल्यो : स्थानीय बासिन्दा दंग

होम राई मगर
प्रकाशित : २०७८ फागुन २९ गते ७:२६

 

निस्दी,पाल्पा / २९ फागुन २०७८ । निस्दी गाउँपालिका वडा नम्बर-७,ज्यामिरेको हुबासमा पहिलो पटक बिजुली बत्ती बलेको छ ।

विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दी ज्यामिरे,हुबास गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय दंग भएका हुन् । सामुदायिक बिद्धुतका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित भएका हुन् । साविक ज्यामिरे गाउँ बिकास समितिको वडा नम्बर-१,चारघरे पछि हुबास ज्यामिरेको बिजुली बत्ती उपभोग गर्ने पहिलो टोल बनेको छ । हाललाई करीब ६५ घरपरिवारमा बिजुली बत्ती बाल्न सफल भएको ज्यामिरेको हुबासमा चाडै नै बिस्तार गरिने पुर्व भूमी सुधारमन्त्री तथा संघीय सांसद दल बहादुर रानालेबताउनु भएको छ । उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मुख्य पाहुना रानाले गाउँको एकता भएमा बिकासका काममा सफलता मिल्ने भन्दै आफुले सकारात्मक सुझाबको अपेक्षा राखेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद नारायण प्रसाद आचार्यले निस्दीमा बिजुली बत्तीको बिस्तारमा भएको ढिलाई बारे सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गरेको भन्दै ठेकेदारलाई जिम्मेवार बनाउन सबैको खबरदारी हुनुपर्ने बताउनुभयो । यसैगरी निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत,साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो । बिजुली बत्ती आएपछि विद्यार्थीहरुलाई पढ्न,रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने स्थानीय गम बहादुर सारुले बताउनु भएको छ ।

लालीगुराँस सामुदायिक बिद्धुत सहकारी संस्था निस्दीका अध्यक्ष दुर्ग बहादुर सोमैको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन स्थानीय मुक्त बहादुर पाटाले गर्नुभएको हो ।


प्रकाशित : २०७८ फागुन २९ गते ७:२६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology