पाल्पामा छ दिदीबहिनी बसे बुबाको काजक्रियामा

Kandara News
प्रकाशित : २०७८ चैत ११ गते २२:२०

पाल्पाको पूर्वखोला गाउँपालिका २, जल्पा मैदानमा ६ दिदीबहिनी बाबुको मृत्यु संस्कार उम्काउन भन्दै क्रियाकर्ममा लागेका छन्। नेपाली समाजमा मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने परम्परागत मान्यतालाई चिर्न चैत ७ गते मृत्यु भएका बुबा रेवत हिस्कीको क्रियाकर्म ६ दिदीबहिनीले उम्माउन लागेका हुन्।

दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की बुबाको काजक्रिया गर्न गत ५ दिनदेखि पूर्णसंस्कारमा रही क्रिया बसेका हुन्। बुबाआमाको काजक्रिया छारीले पनि गर्नुपर्छ र छोराछोरी बराबर हो भन्ने मान्यता स्थापित गर्न तथा अन्धविश्वासलाई चिर्न ६ दिदीबहिनी लागि परेका हुन्।

साईली छोरी प्रेमकुमारीले बाबाको अचानक मृत्यु हुँदा अन्यौलताका बीच दिदीबहिनीहरुको सल्लाहमै काजक्रिया कर्ममा लागि परेको बताइन्। उनी भन्छिन्, ‘हामीसँग दाजुभाई नभएता पनि दिदीबहिनी जुटे जे पनि गर्न सक्छौं भन्ने लागेर पुण्यकर्ममा लागिपर्यौं।’ ६ दिदीबहिनीका एक भाईको १० वर्षको उमेरमा लडेर मृत्यु भयो। तर पनि मगर संस्कार अनुसार छोरा नभए पनि छोरी पनि छोरा समान काम गर्न सकिन्छ भनेर आफूहरु क्रियामा बसेको मनकुमारीले बताइन्।

साधारण परिवार भएका कारण पद्यपब्लिक नमूना माविका विद्यार्थी तथा विद्यालयले क्रियाकर्ममा सहयोग समेत गरेको छ। यहाँका स्थानीयहरुले समेत छोरीहरुले गरेको कार्यको खुलेर प्रशंसा र सामाजिक, आर्थिक सहयोग गर्दै आएका छन्। पद्यपब्लिक नमूना माध्यमिक विद्यालय तानसेनका प्रधानाध्यापक नारायणप्रसाद शर्माले आर्थिक अवस्था कमजोर भएता पनि समाज परिवर्तनमा दिदीबहिनी सबल बनेको बताए। उनले भने, ‘हामी विद्यार्थीहरुसँगै घरमै पुगेर केही सहयोग गर्यौं, समाजमा रहेको अन्धविश्वास चिर्न नानीहरु सफल छन्।’

स्थाानीय टोपबहादुर हिस्कीले सुरुमा आफूहरु अन्यौलतामा रहेको भएता पनि दिदीबहिनीको आँट, साहसले समाज परिवर्तन गर्न सक्ने बताए। ६ दिदीबहिनी मध्ये तीन जनाको घरजम भैसकेको छ। अन्य तीन जना अध्ययन गर्दै छन्। मनकुमारी हिस्की कक्षा १२ मा र सिर्जना हिस्की कक्षा १० मा पद्यपब्लिक नमूना मावि तानसेनमा अध्ययन गर्दै आएका छन्। खेमकुमारी हिस्की स्थानीय शम्भु माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्छिन्।

राती सुतेको अवस्थामा ६७ वर्षीय बाबु रेवत हिस्कीको अचानक मृत्यु भएसँगै सबै दिदीबहिनी सल्लाह गरेर नै मगर समुदायमा चलन रहेको सात दिनसम्म काजक्रिया गर्न लागिपरेका हुन्। ६ दिदीबहिनीकी आमा टुनासरा र मृतकका माईलो भाई दमबहादुर हिस्की पनि उनीहरुसँगै क्रियामा सामेल छन्।

सेरोफेरो न्युज बाट


प्रकाशित : २०७८ चैत ११ गते २२:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology