निर्वाचन घोषणा पत्र अनुसार नब्बे प्रतिशत काम गरेका छौं – अध्यक्ष सारु

धनबहादुर ठाडा
प्रकाशित : २०७८ चैत २४ गते १८:००

/पाल्पा – निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निर्वाचन घोषणा पत्रमा भएको ९० प्रतिशत काम गरेको बताउनुभएको छ । गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित अध्यक्ष सारुले निस्दीमा पार्टीले तयार परेको घोषणा पत्र अनुसार काम गरेको बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा निस्दीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ५ वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेका थिए । भने वडा नम्बर १ बाकामलाङ र वडा नम्बर ७ ज्यामिरेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले विजयी प्राप्त गरेका थिए । अध्यक्ष सारुले मुलुकमा संघीयता लागू भएपछि स्थानीय सरकार मार्फत निस्दीमा धेरै विकास भएको बताउनुभएको छ । आफुहरु निर्वाचित भए लगत्तै निस्दीमा सबैभन्दा बढी सडक , खानेपानी , शिक्षा , कृषि , पर्यटन प्रवर्द्धन , भौतिक पूर्वाधार क्षेत्रमा उल्लेख विकास भएको अध्यक्ष सारुले बताउनुभएको छ । सडकमा निस्दीका सातै वडा केन्द्रसँग जोडिएको बताउनुहुँदै सेवाग्राहीहरुलाई पालिकासम्म आउन समस्या नरहेको सारुको भनाइ छ । खानेपानी समस्या समाधानको लागि संघीय तथा प्रदेश सरकार र स्थानीय सरकारले धेरै लगानी गरेको बताउनुहुँदै धेरै जसो टोलमा खानेपानीको समस्या हटेको सारुले बताउनुभएको छ ।

 

निस्दीले कृषिमा आधुनिकीकरण गर्दै एक वडा एक पकेट कार्यक्रम संचालन गरेको र कृषकहरूलाई अनुदानमा कृषि औजार , हाटे ट्याक्टर मिनीटिलर तथा कृषि उपज सामग्री वितरणमा निरन्तरता दिएको सारुले छ । स्वास्थ्य तर्फ गर्भवती महिलाहरुको लागि अण्डा र झण्डा कार्यक्रम संचालन , जेष्ठनागरिकको निशुल्का परीक्षण तथा औषधि वितरण , वर्थिन सेन्टर , गाउँघर क्लिनिक स्थापना तथा संचालन कोभिड १९ महामारीको बेला जिल्लामै उदाहरणीय बन्न सफल भएको सारुको भनाइ छ । शिक्षातर्फ जिल्लामै सबैभन्दा पहिला दरबन्दी मिलन गर्न सफल भएको बताउनुहुँदै निस्दीका प्रायः सबै विद्यालय भौतिक पुर्वाधारमा सन्तोषजनक रहेको सारुले बताउनुभएको छ । साथै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा सहयोगी कार्यकर्ताहरुको सेवा सुबिधामा अन्य पालिकाको तुलनामा निस्दी अगाडि नै रहेको सारुको भनाइ छ ।

शिक्षक संख्या कम रहेको विद्यालयमा पालिकाले अनुदान शिक्षकको दरबन्दी सृजना गरि वितरण गरेको सारुले बताउनुभयो । स्थानीय पर्यटन प्रवर्द्धनका लागि निस्दीले कुँडुले घर संरक्षण , स्थानीय नाचगानको संरक्षण तथा सम्बर्द्धनका लागि विभिन्न कार्यक्रम अगाडि सरेको सारुले बताउनुभएको छ । झिरुबासको काउले डाँडा , अर्चलेको लेक डाँडा , सहलकोटको जुरे गुफा , सुकेकोट गुफा , मित्यालको हावाबाट निकालेको बिजुली एवं विभिन्न धार्मिक स्थल , कोटघर निर्माण जस्ता उल्लेख्य कार्य गरेको अध्यक्ष सारुले बताउनुभएको छ । अध्यक्ष सारुले पछिल्लो समय निस्दीमा सबैभन्दा चर्चाको विषयमा रहेको सामुदायिक विधुतीकरणको काम स्थानीय सरकारको निरन्तर दबाब र समन्वयबाट यहाँसम्म आएको बताउनुहुँदै यसले नसमिटिएको वडा नम्बर १ र २ मा छुट्टै योजना बनाएर विधुत विस्तारको काम अगाडि बढेको बताउनुभएको छ । साथै निस्दीमा पालिका स्तरीय खेल मैदान , पालिकाको प्रशासनिक भवन , वहुउद्देश्सीय भवन , १५ सैयाको हस्पिटल निर्माण कार्य भएको सारुले बताउनुभएको छ । निर्वाचनको बेला पार्टीले तयार परेको घोषणा पत्र अनुसार केही कामहरु गर्न नसकेको बताउनुहुँदै अध्यक्ष सारुले स्थानीय वासिन्दाको घरमा पुग्दा सकारात्मक प्रतिक्रिया पाएको बताउनुभएको छ । साथै सारुले काम गर्ने सिलसिलामा कर्मचारी तथा सहकर्मी जनप्रतिनिधिहरुबाट अत्यन्तै राम्रो सहयोग मिलेको बताउनुभएको छ । त्यस्तै प्रतिपक्षीहरुबाट पनि सकारात्मक सुझाव सल्लाह र सहयोग मिलेको अध्यक्ष सारुले बताउनुभएको छ ।


प्रकाशित : २०७८ चैत २४ गते १८:००

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology