नेकपा(माओवादी केन्द्र)का निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा समीक्षा बैठक सम्पन्न

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ असार ४ गते २१:१६

पाल्पा,तानसेन
असार ४
नेकपा(माओवादी केन्द्र),पाल्पाले जनप्रतिनिधि सम्मान तथा समिक्षा बैठक सम्पन्न गरेको छ ।
नेकपा(माओवादी केन्द्र),जिल्ला समन्वय समिती,पाल्पाद्वारा आज तानसेनमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज तुलाराम घर्ती मगर “बसन्त” ले विविध कमी कमजोरी अन्तरघात र धोकाका बीच पनि पाँच दलिय गठबन्धन आंशिक सफल भएको उल्लेख गर्नुभयो । पार्टीबाट २०७४ को स्थानिय निर्वाचनमा भन्दा यस निर्वाचनमा विजयी प्रतिनिधि संख्या गुणात्मक रुपमा बढेको बताउनुहुँदै घर्तीले आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गरेर यो भन्दा बढी सिट जित्ने गरि अगाडी बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यकर्ताहरुले राखेका रिपोर्टिङका क्रममा राखेका गुनासो तथा जिज्ञासाहरुको जवाफ दिनुहुँदै लुम्बिनी प्रदेशसभा सदस्य समेत रहनुभएका ईञ्चार्ज घर्तीले तुलनात्मक रुपमा जित्न सक्ने संभावना भएका क्षेत्रमा बढी समय दिँनुपर्ने परिस्थिति,पाँच दलिय गठबन्धनको स्पिरिट अनुसार काम गर्नुपर्ने परिबन्धका कारण उम्मेदवारको छनौट,गठबन्धन भागबण्डा आदि कुरामा सम्झौता गर्नुपर्ने बाध्यता भएकोले आम नेता कार्यकर्ताहरुको भावनालाई जस्ताको तस्तै सम्बोधन गर्न नसकिएको उल्लेख गर्नुहुँदै सबैलाई नआत्तिन आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा(माओवादी केन्द्र),लुम्बिनी प्रदेश कमिटी,सहसचिव सामना,जिल्ला सह-ईञ्चार्ज अनिलकिशोर घिमिरे,केन्द्रीय निर्वाचन आयोग सदस्य चक्रव्युह थापा लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरि स्थानीय सत्ता सञ्चालन गर्न सुझाव दिनुभयो । निर्वाचित प्रतिनिधिहरुको तर्फबाट रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की,तानसेन नगरपालिकाकी उपमेयर प्रतीक्षा सिंजाली,रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियोे । निर्वाचित जनप्रतिनिधिहरुले आफुहरुले जनताहरुको अधिकतम सेवा गर्ने,जनताको मतलाई कदर हुने गरि तथा पार्टीको प्रतिष्ठालाई अक्षुण राख्ने गरि काम गर्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीबाट निर्वाचित अध्यक्ष-१,उपप्रमुख(उपमेयर)-१ ,उपाध्यक्ष-१,वडा अध्यक्ष-५,कार्यपालिका सदस्य-११ र वडा सदस्यहरु-३२ गरि कूल ४३ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम पार्टी जिल्ला संयोजक नेत्रप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियोे ।


प्रकाशित : २०७९ असार ४ गते २१:१६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology