नीजि अस्पताल तथा मेडिकल कलेजहरुमा स्वास्थ्य बिमा सेवा स्थगित भएपछि सर्वसाधारणलाई सास्ती

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ साउन २३ गते २२:३५

पाल्पा,२३ साउन
नीजि स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बिमा सेवा बन्द गर्दा सर्वसाधारणहरु मर्कामा परेका छन् । आ.व.२०७९/८० को बजेटमा नीजि मेडिकल कलेज तथा नीजि अस्पतालबाट बिमा सेवा हटाउने घोषणा गरेको थियोे । पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमा सेवा स्थगित  छ भने मिशन अस्पताल भुषालडाँडामा मात्रै सेवा सुचारु छ ।
बजेटमा ‘स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ,’ भनिएको छ।
बोर्डका एक अधिकारी भन्छन्, ‘स्वास्थ्य बिमामार्फत उपचार गर्ने क्रममा निजी अस्पतालले बदमासी तथा लापर्वाही गरेकाले सरकारले यस्तो निर्णय गरेको हो। अस्पतालले बीमितले सेवा लिएभन्दा बढी रकम दाबी गर्न थालेपछि समस्या भएको छ।’
नीजि अस्पतालहरुले भने बिमा रकम समयमै भुक्तानी नहुने,भुक्तानी भएपनि एकैपटक पूरा भुक्तानी नहुने गर्दा कर्मचारी लाई तलब दिन पनि गाह्राे भईरहेको बताएका छन् । केही समय अगाडी बिमा बापतको रकम भुक्तानी नभएको भन्दै विभिन्न नीजि अस्पतालहरुले स्वास्थ्य बिमा सेवा स्थगन गर्ने सुचनाहरु प्रकाशित गर्ने गरेका थिए ।
नीजि अस्पतालहरुमा स्वास्थ्य बिमा सेवा स्थगित गरिए पछि सिमीत सरकारी तथा सामुदायिक अस्पतालहरुमा बिरामीहरुको घुईचो बढेको छ ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई कम्पनी मार्फत व्यवस्थित गर्ने तयारी गरेको छ । बजेट वक्तव्यमा ‘ सबै सामुदायिक तथा सरकारी अस्पतालमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ।’  भनिएको छ ।
स्वास्थ्य बिमा बोर्डले देशभरका ४८ निजी अस्पतालसँग स्वास्थ्य बिमा सञ्चालन सम्झौता गरेको छ। देशभर निजी, सामुदायिक र सरकारी गरी ४४९ स्वास्थ्य संस्था बिमा कार्यक्रममा आबद्ध छन्।
बोर्डका अनुसार गत आर्थिक वर्षमा ८ अर्ब बढी रकम भुक्तानी गरिसकेको छ। अझै ३ अर्ब १९ करोड रुपैयाँ भुक्तानी बाँकी छ। सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ। सरकारले प्रतिपरिवार वार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा गरी परिवारका पाँच जना सदस्यलाई वार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ।


प्रकाशित : २०७९ साउन २३ गते २२:३५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology