मित्यालमा भलिबल हेर्ने गएका झिरुबास भलुवाका दुई युवा मृत अवस्थामा फेला

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ असोज २० गते १२:३८

२० आश्विन २०७९, बिहीबार
पाल्पा, निस्दी गाउँपालिका–३, झिरुवास भलुवाका दुई युवा बुधबार मृत अवस्थामा भेटिएका छन् । घरबाट भलिबल खेल हेर्न हिँडेका निस्दी–३, झिरुवास भलुवाका २१ वर्षीय वीरेन्द्र सोमै र सोही गाउँका २३ वर्षीय इन्द्रबहादुर खरु मगर मृत भेटिएका हुन् ।

तीन दिन देखि वेपत्ता भएका युवाहरु छुट्टा छुट्टै स्थानमा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार निस्दी गाउँपालिका–४, मित्याल मौलाथरमा असोज १७ गते भलिबल हेर्न हिँडेका सोमै र खरु घर फर्किएका थिएनन् । स्थानीयका अनुसार युवा घर नफर्किए पछि खोजी सुरु भएको थियो । निस्दी गाउँपालिका– ५, गल्धाको ढुंगानाबेंसी नजिकै पाकरी खोलामा शव फेला परेको थियो । शरीरका अंगहरु नभएको क्षत विक्षत अवस्थामा रहेको शव पहिचान हुन सकेको थिएन । तर पछि हातमा रहेको ट्याटुको आधारमा इन्द्रकै लास भएको स्थानीयले पहिचान गरेका थिए ।

खोजी गर्दै जाँदा निस्दी- ४, मित्यालकै काफल खोलामा मोटरबाटो तल वीरेन्द्रलाई विभत्स अवस्थामा बुधबार मृत फेला पारेका थिए । प्रहरीले घटनाको सम्बन्धमा विस्तृत अनुसन्धानपछि मात्र सत्यतथ्य आउने जनाएको छ । घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

स्थानीयका अनुसार शरीरका अंगहरूसमेत छरपस्ट अवस्थामा भेटिनु, लास फरक फरक स्थानमा फेला पर्नु र उनीहरु चढेको मोटरसाईकल फेला नपर्नुले हत्या भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । उनीहरुले घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन् । दुवैको शव रामपुर अस्पतालमा लगिएको छ ।


प्रकाशित : २०७९ असोज २० गते १२:३८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology