वाम लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं.-१ को पत्रकार भेटघाट सम्पन्न,पुर्वी पाल्पाको विकासका लागि आफुहरुले जित्नैपर्ने दाबी

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ असोज २६ गते ९:४६

पाल्पा,असोज २५
वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं.-१,का उम्मेदवारहरुको पत्रकार सम्मेलन तानसेनमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सन्दिप रानाले पत्रकारहरुको राखेका प्रश्नहरुको जवाफ दिनुहुँदै कालीगण्डकी-तिनाउ डाइभर्सन योजना कुनै पनि कोणबाट उपयुक्त नभएको दाबी गर्नुभयो । “बुटवलको १ लाख हेक्टर जमिन सिंचाई गर्ने नाममा राम्दीभन्दा तल्लो क्षेत्रका ३ लाख हेक्टर भन्दा बढी जमीन सुख्खा हुने गरि गर्न लागिएको डाईभर्सन योजना कसरी वैज्ञानिक हुनसक्छ ?” रानाको प्रश्न थियो । धार्मिक तथा पर्यावरणीय दृष्टिले समेत कालीगण्डकीको अस्तित्व लोप हुने गरि गर्न लागिएको उक्त योजना सफल नहुने उहाँको भनाई थियो । कालीगण्डकी तटीय क्षेत्रमा अल्पसंख्यक माझी,कुमाल,बोटे,दराई लगायतका आदिवासी जनजातिहरु समेतको बसोबास रहेको हुँदा कालीगण्डकी डाईभर्सन योजना आई एल ओ सन्धी विपरीत हुने समेत रानाले उल्लेख गर्नुभयो । रानाले कालीगण्डकी करिडोर सम्पन्न भएर ५० मिटरको बाटो बन्दा रामपुर मिनी सिंगापुर बन्नसक्ने सम्भावना रहेको समेत बताउनुभयो । उहाँले कालीगण्डकी करिडोरमा रामपुर जतिको राम्रो र उपयुक्त भुगोल कहिं कतै नभएको दाबी गर्नुभयो । रानाले बुलिङ्टारदेखि रामपुरसम्मको टारलाई भविष्यमा चिन र भारतको ट्रान्जिटको रुपमा विकास गर्न सकिने सम्भाव्यता अौंल्याउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासामा जवाफ दिनुहुँदै नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञान बहादुर गाहाले पूर्वी क्षेत्रको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताउनुभयो ।उहाँले लामो समयदेखि जीर्ण अवस्थामा रहेको आर्यभञ्ज्याङ-वीरकोट-सिलुवा-रामपुर मोटरबाटो र पाल्पाको पुर्वी दक्षिण क्षेत्रमा अझैसम्म पनि विस्तार हुन नसकेको विद्युत सेवाको समस्या समाधान गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता समेत जनाउनुभयो । विगत ३० वर्षदेखि लगातार नेकपा(एमाले) ले जित्दै आएपनि पुर्वी पाल्पाको अवस्था जस्ताको तस्तै रहेको उल्लेख गर्नुहुँदै गाहाले एकपटक क्षेत्र नं.-१ का जनताहरुले विकल्प खोज्नुपर्ने बताउनुभयो ।

त्यस्तै प्रदेशसभा १(क) का प्रत्यासी नेपाली कांग्रेसका श्यामकान्त खनालले आफुसंग राष्ट्रसेवाको अनुभव रहेको हुँदा आफू विजयी भएमा आफ्ना राष्ट्रसेवाका अनुभव,राष्ट्रसेवामा रहँदाका सम्बन्ध,सम्पर्कहरुलाई पुर्वी पाल्पाको विकासमा प्रयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले पुर्वको बाकामलाङदेखि मित्याल ज्यामिरे हुँदै रिङ्नेरहसम्मको बाटो स्तरउन्नती गरेर कालोपत्रे गराउने कामलाई आफुले प्राथमिकतामा राखेको बताउनुभयो । सो ट्रयाक खोलिसकेको हुँदा थप स्तरउन्नती गरेर पिच गराउने काम असम्भव नरहेको समेत उहाँले जिकिर गर्नुभयो । खनालले आफुहरुकै पहलमा रामपुरमा विमानस्थलको सम्भावनाको अध्ययन भईरहेको समेत उल्लेख गर्नुभयो । उहाँले पहिले प्रस्तावित स्थान रामपुरमा सर्भे हुँदा उपयुक्त नदेखिए पछि हाल गेझाको कुमाल गाउँमा सम्भाव्यता अध्ययन भईरहेको र त्यसलाई पूरा गरि छाड्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

प्रदेशसभा १(ख) का प्रत्याशी नेपाली कांग्रेसकै शंकर खनालले क्षेत्र नं.१ का जनताहरुले एकपटक गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउनै पर्ने आवश्यकता अौंल्याउनुभयो । आफुहरु जनताका समस्याहरु र विपक्षी दलहरुले राजनैतिक शक्तिका आडमा गरेका,भएका वेथितीका विषयमा जानकार रहेको हुँदा सो सबै समस्याका समाधानका रुपमा आफुहरुको उम्मेदवारी रहेको दाबी गर्नुभयो । खनालले पाल्पाको क्षेत्र नं.-१ लाई सन्तुलित विकास गर्नका लागि जनताहरुले आफुहरुलाई जिताउने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का तर्फबाट प्रतिनिधिसभा समानुपातिक सदस्यका उम्मेदवार जित बहादुर थापा”हिरा”, प्रदेशसभा समानुपातिक सदस्य उम्मेदवार गिता वि.क.,नेपाली कांग्रेस प्रदेशसभा समानुपातिक सदस्य उम्मेदवार तुलसा वि.क. लगायतले चुनावी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेस,पाल्पाका सभापति एवं वाम-लोकतान्त्रिक गठबन्धनका जिल्ला संयोजक हिमालदत्त श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रममा नेकपा(एस) का नेता एवं राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे,नेकपा(माओवादी केन्द्र),पाल्पाका सह-ईञ्चार्ज अनिलकिशोर घिमिरे लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रम निर्वाचन प्रचार-प्रसार संयोजक झपेन्द्र गहिरेले सञ्चालन गर्नुभएको थियोे ।


प्रकाशित : २०७९ असोज २६ गते ९:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology