कालिगण्डकी डाईभर्सन रोक्न आफू प्रतिवद्ध रहेको – काँग्रेस उम्मेदवार गाहा

Kandara News
प्रकाशित : २०७९ कार्तिक २४ गते २०:२९

पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो

नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ-ठाउँमा चुनावी सभा गरेको छ । प्रचार प्रसार संगै फक्सिङ्गकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गाहाले परिवर्तनसंगै पाल्पाको क्षेत्र नं. १ को समग्र विकासको लागि गठबन्धनलाई जिताउन सबै मतदताहरुलाई आग्रह गरेका छन् । उनले विगत २८ वर्ष देखि लगातार नेकपा एमालेले जित्दै आए पनि जनताले अनुभव गर्ने गरी परिवर्तन हुन नसकेको भन्दै जनताले चाहे अनुसारको विकासको लागि अब परिवर्तनको खाँचो रहेको बताए । गाहाले कालीगण्डकी हामी सबैको सम्पदा रहेको भन्दै डाईभर्सन रोक्न र नदीको संरक्षणका लागि आफु प्रतिवद्ध भएर लाख्ने समेत बताए । गाहाले क्षेत्रका अन्य पूर्वाधारहरु संगै हुँगी पन्टार ताहुँ सडकको स्तरोन्नती गर्ने,  प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने पक्की बाटो निर्माण गर्ने, कालीगण्डकी करिडोर सँगको पहुँच मार्ग निर्माण गर्ने घोषणा गरे । गाहाले खानेपानीको अभाव भएका स्थानमा लिफ्टिीङ्ग मार्फत पानीको प्रवन्ध मिलाउने, कृषिको अधुनिकिकरण र युवालाई स्वरोजगार बनाउन पहल गर्नेसमेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार सन्दिप रानाले यहाँ रहेका रिमिघा लेक लगाएत पर्यटकिय स्थलको प्रवद्र्धन तथा मौलिक संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवद्र्धनमा जोड दिने बताए । उनले जनतालाई आर्थिक रुपमा सक्षम बनाउन होमस्टे तथा व्यवसायिक कृषिको लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउने समेत प्रतिवद्धता व्यक्त गरे । पाल्पा क्षेत्र नं. १ का प्रदेश २ का उम्मेदवार शंकर खनालले युवालाई गाउँमै बस्ने वातावरण तयार गर्ने, कृषिको आधुनिकिकरण गर्ने, व्यावसायिक पशुपालन संगै वनलाई उत्पादनसंग जोड्न एग्रो फरेस्ट्री कार्यक्रम सञ्चालन गर्ने घोषणा बताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद अधिकारीले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनले जित्नु आवश्यक रहेको औल्याए । अधिकारीले निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षाका लागि सक्रिय भएर लाग्न समेत सबैलाई आग्रह गरे । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दान बहादुर पछाईले गठबन्धनको आवश्यकताको बारेमा प्रकाश पारेका थिए । यता प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश १ का उम्मेद्वार श्यामकान्त खनालले रामपुर नगरपालिकाका विभिन्न वडा र टोलहरुमा घरदैलो गरेका छन् । जनताको घरदैलोमा पुगेर खनालले विकसित गाउँ, समृद्ध शहर निर्माणको लागि आफु निर्वाचनमा होमिएको बताएका छन् । उनले अब परिवर्तनका लागि सोच्ने समय आएको बताउँदै युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन र गाउँको विकासको लागि योजनाहरु अघि बढाउने बताए ।


प्रकाशित : २०७९ कार्तिक २४ गते २०:२९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology