वीरकोट चुलीडाँडामा मोटरबाटो निर्माण शुरु,बृहत् चुलीडाँडा पर्यटन विकास योजना बनाएर काम गरिने ।

अमृत काम्मु मगर
प्रकाशित : २०७९ मंसिर ५ गते २१:००

पाल्पा,वीरकोट
मंसिर,५
पुर्वखोला-५,वीरकोटमा रहेको ऐतिहासिक ‘वीरकोट चुलीडाँडा’ मा मोटरबाटो पुग्ने भएको छ ।
आज पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले एक अनौपचारिक कार्यक्रमका बीच मोटरबाटो निर्माण कार्यको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै अध्यक्ष थापाले चुलीडाँडाको पर्यटकीय विकासका लागि पुर्वखोला गाउँपालिकाले आगामी दिनहरुमा पनि आवश्यक आर्थिक,भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


आर्यभञ्ज्याङ-रामपुर सडकखण्डको पुर्वमा वीरकोट,लामोभट्टी देखि पश्चिममा सुकेपोखरासम्म आधारक्षेत्र रहेको चुलीडाँडाको टपमा समथर भुभाग रहेको छ । सो स्थानबाट उत्तरमा धौलागिरी,माछापुच्छ्रे,अन्नपुर्ण लगायतका हिमालहरु तथा स्याङ्जाका केही भुभागहरु समेत दृश्यावलोकन गर्न सकिन्छ । चुलीडाँडामा मोटरबाटो पु-याएपछि,क्रमश: त्यसस्थानलाई पुर्वखोलाकै नमुना पर्यटकीय स्थलको रुपमा विकास गरिने गरि योजना बनाईएको चुलीडाँडा बृहत् पर्यटन विकास अभियानका संयोजक चतुर दिसुवा मगरले बताउनुभयो । हाल पुर्वी भेगको भाङडाँडादेखि माथि करिब १ किलोमिटर सडक निर्माण गर्ने गरि काम भईरहेकोमा क्रमशः थप कामहरु गर्दै जाने पनि संयोजक दिसुवाले जानकारी दिनुभयो । योजना अन्तरगत पश्चिम भेगको सुकेपोखरादेखि टपसम्म रेलिङसहितको पक्की सिँढी पनि निर्माण हुने दिसुवाले जानकारी दिनुभयो। भविष्यमा चुलीडाँडामा बुद्धको मुर्तिसहित भ्युटावर,पार्क तथा पिकनिक स्पट निर्माण गरिने लक्ष्य राखिएको अभियन्ता एवं समाजसेवी सञ्जयदेव श्रेष्ठले बताउनुभयो । सो योजना सम्पन्न गर्नका लागि जनस्तरबाट समेत आर्थिक सहयोग अभियान चलाउने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनुभयो ।


पुर्वखोला गाउँपालिकाको विनियोजित रु. १० लाख बजेट सहयोगमा मोटरबाटो निर्माण कार्य गर्न लागिएको हो । कार्यक्रममा पुर्वखोला गाउँपालिका वडा नं.-५,वीरकोटका वडाध्यक्ष विष्णु कुमार पल्ली,अन्य जनप्रतिनिधिहरु लगायत स्थानीयबासीको सहभागीता रहेको थियोे ।


प्रकाशित : २०७९ मंसिर ५ गते २१:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology