पुर्वखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

अमृत काम्मु मगर
प्रकाशित : २०७९ मंसिर २३ गते २३:०८

पुर्वखोला,पाल्पा
२०७९ मंसिर २३
पुर्वखोला गाउँपालिका,पाल्पाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुले विकास निर्माण,नदिजन्य पदार्थको अव्यवस्थित उत्खनन,सार्वजनिक सेवा प्रवाह,योजना सञ्चालन र कार्यान्वयन,कृषिको बजारीकरण,शिक्षा सुधार,स्वास्थ्य सेवा लगायतका विविध विषयमा प्रश्न,जिज्ञासा र सुझावसहित प्रस्तुत भएका थिए ।
सहभागीहरुले राखेको जिज्ञासामा जवाफ दिनुहुँदै पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गएको पाँच वर्ष स्थानीय सरकारको जग बसाउने काम सम्पन्न भएको हुँदा अब पुर्वखोलाले गुणात्मक विकासतिर अगाडी बढ्ने बताउनुभयो । गाउँपालिकाको आन्तरिक आम्दानीको मुख्य स्रोतको रुपमा पुर्वखोलाको नदीजन्य पदार्थ भएको तर अत्याधिक उत्खननले खोलाको पारिस्थितिक पद्धति नै असन्तुलन हुन गएको हुँदा अब सिमित र निर्धारित स्थानमा निर्धारित परिमाणमा मात्रै उत्खनन् गर्ने व्यवस्था मिलाउन लागिएको बताउनुभयो । पालिकामा दर्जनौं कृषि तथा पशुपालन व्यवसाय फर्महरु दर्ता भएको उल्लेख गर्नुहुँदै अध्यक्ष थापाले कृषि क्षेत्र निर्वाहमुखिबाट व्यवसाय उन्मुख भईरहेको समेत बताउनुभयो । कृषि उपजहरुको बजारीकरणका लागि छिट्टै संकलन केन्द्र स्थापना गरि बजारसम्म पु-याउने व्यवस्था गरिन लागेको बताउनुहुँदै अध्यक्ष थापाले कृषकहरुलाई ढुक्कले व्यवसायिक खेती गर्न आह्वान गर्नुभयो । कुनै राजनैतिक पुर्वाग्रह नराखेर सन्तुलित र दिगो विकासमा पालिका अगाडी बढीरहेको अध्यक्ष थापाको भनाई थियोे ।
आ.व.२०७९/८० को प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारुले कार्यक्रमको महत्त्व र आवश्यकताका बारेमा उल्लेख गर्नुभएको थियोे । प्रमुख प्रशासकीय अधिकृत सारुले दरबन्दी भन्दा धेरै कम कर्मचारी हुँदा कार्यालयको सेवा प्रवाह प्रभावित बनेको उल्लेख गर्नुभयो । जनताहरुमा कतिपय नीतिगत तथा प्रक्रियागत ज्ञान नहुँदा विशेषगरी योजनाका भुक्तानी सम्बन्धि सेवा प्रवाह हुँदा कर्मचारीले दुःख दिएको भन्ने गलत बुझाई बनेको हुँदा आगामी दिनहरुमा उपभोक्ता समितिहरुलाई प्रभावकारी तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गरिन लागेको बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य,वडा कार्यालय,कृषि लगायतका विधागत कार्यालयसंग सम्बन्धित प्रश्नहरुको उत्तर सम्बन्धित शाखा प्रमुखहरुले दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य रितमान श्रेष्ठ,वडा नं.-३,का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई,नेकपा(एमाले) का ईश्वरीप्रसाद न्यौपाने,नेपाली काँग्रेसका विष्णुदेवी आचार्य र नेकपा(माओवादी केन्द्र) का भिम बहादुर सारु,मातृभूमि मा.वि.का प्र.अ.मेहरमान थापा लगायतले सुझावसहितको मन्तव्य राख्नुभएको थियोे । सहभागीहरुका तर्फबाट उद्बुद्ध कलेजका प्रमुख हरि प्रसाद न्यौपाने,साहित्यकार निलकण्ठ न्यौपाने,रामप्रसाद ढुँगाना,रविन्द्र पंगेनी लगायतले जिज्ञासा राख्नुभएको थियोे । पाल्पा विकास केन्द्रका किरण कौशलको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा कुटुम्ब एफ.एम.का स्टेसन म्यानेजर नारायण न्यौपाने,पुर्वखोला मिडिया प्रा.लि.का कार्यकारी निर्देशक डिल्लीराज पंगेनी,सनराईज टेलिभिजनका सम्वाददाता रोशन थापा लगायतको उपस्थिति रहेको थियोे ।


प्रकाशित : २०७९ मंसिर २३ गते २३:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology