विवादका कारण मटेरीमा निर्माण कार्य रोकिएको सडक रामपुर नगरपालिकाको पहलमा निर्माण कार्य सुरु

Kandara News
प्रकाशित : २०७९ मंसिर २७ गते २०:४८

विवादका कारण मटेरीमा निर्माण कार्य रोकिएको सडक रामपुर नगरपालिकाको पहलमा निर्माण कार्य सुरु

पाल्पा , राष्ट्रिय गौरवको योजनाको रुपमा रहेकोे कालिगण्डकी करिडोर सडक योजना अन्तर्गत विवादका कारण निर्माण कार्य हुन नसकेको रामपुर ५ मटेरीमा सडक निर्माण सुरु भएको छ । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्ष विच सडक निर्माणका लागी लामो समय देखि विवाद रहेको थियो । झण्डै ३ बर्ष देखि विवादका कारण निर्माण हुन नसकेको सडक रामपुर नगरपालिकाको पहलमा सोमबार देखि निर्माण गर्न सुरु गरिएको छ । विभिन्न योजना सञ्चालनका क्रममा भएका अवरोध हटाउने सुचना जारी गरेको नगरपालिकाले अवरोध हटाउने र योजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिए संगै उक्त स्थानमा सडक निर्माणको काम शुरु भएको हो ।

विभिन्न योजना सञ्चालनका क्रममा अवरोध हुँदा नगरको विकासमा बाधा पुग्ने भएकाले योजना सञ्चालनका लागी नगरपालिकाले अवरोध हटाउने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । सार्वजनिक जग्गा छुट्याई वडा नं. ५ को मटेरीमा सडक निर्माण थालिएको उहाँले बताउनुभयो । “नगर भित्र राष्ट्रिय गौरव , नगर गौरव र वडा गौरवका योजना सञ्चालन गर्दा कहीँ कतै अवरोध आए त्यो नगरपालिकाले हटाउँछ”– नगर प्रमुख थापाले भन्नुभयो । निर्माणाधिन सडकको स्थलगत अनुगमन गर्दै नगर प्रमुख थापाले कुनै डर संकोच विना निर्धक्क संग तिव्र गतिमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो । साथै योजना संचालनमा बाधा पु¥याउने गरि सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचना समेत हटाउने उहाँले बताउनुभयो । थापाले सवै योजना संचालन गर्दा अवरोध हुने संरचना हटाएर सौहार्द वातावरण तयार गरि नगरको विकासमा सहयोग गर्न नगरबासीलाई आग्रह गर्नु भएको छ । यस्तै रामपुर नगरपालिका वडा नं.२ को भलायटार स्थित सडक पनि कालिगण्डकी करिडोर सडक योजनाको डिपिआर अनुसार नै निर्माण हुने उहाँले बताउनुभयो ।

स्थानियको अवरोधका कारण रोकिएको सडक निर्माणका लागी स्थानिय विच आपसी समझदारीमा काम गर्ने भनिए पनि समझदारी हुन नसके पछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआर अनुसार नै काम गर्न सुरु गरेको कालिगण्डकी करिडोर योजनाका ईन्जिनियर विष्णु भट्टराईले बताउनुभयो । गैडाँकोट – पिपलडाँडा सडक योजना अन्तर्गत सो क्षेत्रमा पर्ने ४ सय ५० मिटर सडक ११ मिटर चौडाई कालो पत्रे सहित निर्माण कार्य हुने ईन्जिनियर भट्टराईले बताउनुभयो । सडक निर्माण कार्यले निरन्तरता पाए पछि स्थानिय उत्साहित भएका छन् ।


प्रकाशित : २०७९ मंसिर २७ गते २०:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology