रामपुर नगरपालिका भित्रका भूउपयोग क्षेत्र वर्गीकरण सकियो

Kandara News
प्रकाशित : २०७९ मंसिर २८ गते १९:२८

पाल्पा , रामपुर नगपालिकाले नगर भित्रका जग्गाको भूउपयोग क्षेत्र वर्गीकरण गरेको छ ।

भूउपयोग परिषद्को बैठकले नगर भित्रका जग्गाको वर्गीकरण गरेको हो । बैठकले नगर भित्रका जग्गाको आवास क्षेत्र , कृषि क्षेत्र , व्यवसायीक क्षेत्र , औद्योगिक क्षेत्र ,लगाएतका क्षेत्र निर्धारण गरेको छ । बैठकले ६ मिटर चौडाई भएको बाटोको दाँया बाँया ५० मिटर , ८ मिटर बाटोको दाँया बाँया ७० मिटर , १० मिटर बाटोको दाँया बाँया ८० मिटर र १० मिटर भन्दा माथीका मापदण्ड भएका बाटोको दाँया बाँया १०० मिटर सम्म आवासीय क्षेत्र निर्धारण गरेको छ । अंशबण्डा गर्दा आवास थप्नु पर्ने भए आपसी समझदारीमा मापदण्ड अनुसार बाटो विस्तार गरि आवास बनाउन सकिने निर्णय गरेको छ । साथै प्रयोगमा आएको चर श्रेस्ता कायम नभएको बाटोको मापदण्ड कायम गरि बाटो सार्वजनिक गर्न सकिने भएको छ ।

यस्तै नगरपालिका अन्तर्गत समथर भु–भाग छोडी अन्य पहाडी क्षेत्रमा बाटोको ३० मिटर दाँया बाँया क्षेत्रलाई आवासीय क्षेत्र तोकेको छ । यसैगरी कालिगण्डकी करिडोर सडकबाट एक सय मिटर दाँया बाँयाको क्षेत्रलाई व्यवसायीक क्षेत्र तोकेको छ भने रामपुर नगरपालिका वडा नं. ७ किसानबारी देखि तुरुन्दी खोला सम्मको मुलबाटोमा पर्ने विरेन्द्रटारको उत्तर तर्फको ९६ रोपनी जग्गालाई औद्योगिक क्षेत्र निर्धारण गरेको छ । यस्तै नगर भित्र रहेका खानी तथा खनिज क्षेत्र , नदी , खोला , ताल , सिमसार क्षेत्र , सार्वजनिक उपयोगको क्षेत्र , सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र बाहेकका अन्य क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरेको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख तथा भूउपयोग परिषदका अध्यक्ष रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले भूउपयोग वर्गीकरण सम्बन्धी कुनै फैसला अदालतबाट भएर आएमा सोही बमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको छ । विभिन्न वडाबाट आएका प्रस्तावलाई छलफल गरि जग्गाको वर्गीकरण गरिएको हो । जग्गाको वर्गीकरण गरि नगरपालिकाले संघमा पेश गरेको छ । संघबाट स्विकृत भई आएमा नगरभित्रका जग्गाको किट्टाकाट गरि विक्रि गर्न सकिने छ ।


प्रकाशित : २०७९ मंसिर २८ गते १९:२८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology