योजनाको रकमसहित उपभोक्ता समिति अध्यक्ष सम्पर्कबिहिन ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७९ माघ १९ गते २१:१६

पाल्पा,१९ माघ २०७९

पाल्पा पूर्वखोला गाउँपालिका -१,सिलुवाको सिरडाँडा केङ्सेदी हुँदै वडा भवन(सिलुवा) जोड्ने मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष डोल प्रसाद श्रेष्ठ योजनाको रकमसहित सम्पर्क बिहिन बनेको स्थानियहरुले आरोप लगाएका छन् ।
सो योजनाका लागि चालू आ.व.२०७९/८० मा कार्यान्वयन हुने गरि गाउँसभाद्वारा रु.२ लाख बजेट बिनियोजित भएको थियो । सोही अनुसार श्रेष्ठ अध्यक्ष रहेको उपभोक्ता समिति बनेको थियोे  ।  योजनाको  काम सम्पन्न गरि फरफारक भई भुक्तानी समेत लिईसके पछि अध्यक्ष श्रेष्ठ सम्पुर्ण रकमसहित बेखबर बनेपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।  योजनाको काममा सञ्चालन भएका डोजर धनी तथा ट्याक्टर धनीहरु उपभोक्ता समितीका सचिव,कोषाध्यक्ष लगायतका पदाधिकारीहरुसंग रकम भुक्तानी माग्न आएपछि बल्ल यो रहस्य खुलेको हो । श्रेष्ठले उपभोक्ता समितिका सदस्यहरुको घर-घर गई हस्ताक्षर लिएर रकम निकासा गरेको तर तिर्नुपर्ने ठाउँमा भुक्तानी नगरि करिब २ सातादेखि सम्पर्क बिहिन बनेको स्थानीय सञ्जय पुलामीले बताउनुभयो ।
यस सम्बन्धमा पुर्वखोला गाउँपालिकाका सुचना अधिकारी मोहन ढकालसंग सम्पर्क राख्दा उक्त योजनाको नियमअनुसारका सम्पुर्ण प्रक्रिया पुरा गरि,फरफारक भई भुक्तानी माग भएको हुँदा उपभोक्ता समितिको खातामा रकम जम्मा भएको पुष्टि गर्नुभयो ।
यस विषयमा तत्कालै वडा कार्यालय र स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराए पनि अझैसम्म श्रेष्ठलाई सम्पर्क गर्न कुनै पहल नभएको भन्दै स्थानीयहरुले आलोचना गरेका छन् ।
यसबारे वडा कार्यालयमा जिज्ञासा राख्दा उनी श्रीमतीसहित ससुराल हिँडेको जानकारी पाएको वडाध्यक्ष गिरिमान आलेले बताउनुभयो । श्रेष्ठसंग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन नसकेको पनि वडाध्यक्ष आलेले बताउनुभयो । योजना सम्पन्न भई सम्पुर्ण कागजात लगायतका प्रक्रिया पूरा गरि भुक्तानी समेत लिईसकेपछिको आन्तरिक आर्थिक कारोबारको भुक्तानी सम्बन्धि जिम्मेवारी  सम्बन्धित उपभोक्ता समितिकै रहने पनि आलेले बताउनुभयो ।  श्रेष्ठको खोजीका लागि पहल भईरहेको पनि वडाध्यक्ष आलेले जानकारी दिनुभयो । उनको मोबाइल स्वीच अफ रहेको छ ।


प्रकाशित : २०७९ माघ १९ गते २१:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology