वीरकोट,पाल्पा
माघ २१
पाल्पा,पुर्वखोला गाउँपालिका वडा नं.-५,वीरकोटमा “वीरकोट चुलीडाँडा पर्यटन विकास समिति”गठन भएको छ ।
आज चुलीडाँडामा आयोजित साविक वीरकोट गाविस अन्तरगतका ९ वटै वडाबाट प्रतिनिधिमुलक उपस्थिति रहेको भेलाका मुल पाहुना पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा हुनुहुन्थ्यो । मुल पाहुना थापाले चुलीडाँडाको ऐतिहासिक महत्वका विषयमा चर्चा गर्नुहुँदै,विगतमा आफू गाविस अध्यक्ष हुँदा यसक्षेत्रको व्यवस्थापन,संरक्षण लगायतका विषयमा कुरा चलाईएको भएपनि तत्कालीन अवस्थाको आर्थिक स्रोत,सामाजिक मनोविज्ञान लगायतका कुराहरुले गर्दा योजना अधुरै रहेको बताउनुभयो । थापाले चुलीडाँडा लगायत यस वरपरका अन्य पर्यटकीय सम्भावनायुक्त स्थानहरुलाई समेत संगसंगै विकास गरेर लैजान सकिने बताउनुभयो । मन्तव्यकै क्रममा चुलीडाँडा मुख्य सडकमार्ग संगै जोडिएर आगन्तुकहरुको सहज पहुँचमा भएको हुँदा यस स्थान पर्यटकहरुको आकर्षणको स्थल बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
भेलाको अध्यक्षता गरिरहनुभएका वडा नं.-५,का अध्यक्ष विष्णु कुमार पल्ली मगरले चुलीडाँडाको विकासका लागि वडा कार्यालय सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । “चुलीडाँडाले चर्चेको वास्तविक जमिन क्षेत्र पत्ता लगाउने प्रक्रिया अगाडी बढीसकेको छ। सुचना प्रकाशित भएर प्राप्त दाबी,प्रमाण माथि प्राविधिक परिक्षण गरेर छिट्टै निष्कर्षमा पुगिनेछ ।” वडाध्यक्ष पल्लीले भन्नुभयो ।
सो भेलाले १३ सदस्यीय वीरकोट चुलीडाँडा पर्यटन विकास समिती गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा चतुर दिसुवा मगर हुनुहुन्छ । समितिको सचिवमा अमृत काम्मु मगर तथा कोषाध्यक्षमा यानीसरा ठकुरी रहनुभएको छ । समितीको संरक्षकमा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा रहनुभएको छ । १३ सदस्यीय सल्लाहकार समिति संयोजकमा वडाध्यक्ष विष्णु कुमार पल्ली हुनुहुन्छ । कार्यक्रममा मीन बहादुर सारु,अर्जुन वि.क.,चतुर दिसुवा लगायतले बोल्नुभएको थियो । कार्यक्रम अमृत काम्मु मगरको सञ्चालनमा चलेको थियो । समितिले चुलीडाँडा लगायत वीरकोट क्षेत्रभित्रका पर्यटनको सम्भावना बोकेका स्थानहरुलाई क्रमशः विकास गर्दै लैजाने समेत जनाएको छ ।
प्रकाशित : २०७९ माघ २१ गते २०:२२
Facebook Comment