यौन दुर्व्यवहारको आरोप लागेका भैरवस्थान मन्दिरका पुजारी निलम्बित

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०८० असार १३ गते २२:१२

पाल्पा,तानसेन

२०८० असार १३

यौन दुर्व्यवहारको आरोप लागेका भैरवस्थान मन्दिरका मुल पुजारी जितनाथ कवर निलम्बित भएका छन् ।
आज २०८० असार १३ गते बुधबारका दिन मन्दिरमा दर्शन गर्न आउने किशोरी तथा महिलाहरु माथि अभद्र व्यवहार गरिएको समाचार बाहिरिएपछि भैरवस्थान मन्दिर व्यवस्थापन समितिले एक विज्ञप्ति जारी गर्दै छानबिन पूरा नहुँदासम्म उनलाई पुजाआजा लगायत सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाईएको छ ।
आज अनलाइन सेतोपाटी डटकमले “भैरवस्थान मन्दिरका मूल पुजारीबाट महिला दर्शनार्थीहरूमाथि यौन दुर्व्यवहार”  शिर्षकमा मन्दिरका मुल पुजारी जितनाथले दर्शनका लागि आउने किशोरी तथा महिलाहरुलाई यौन दुर्व्यवहार गर्ने  समाचार प्रकाशित गरेको थियोे । समाचारका अनुसार पुजारीले फूलप्रसाद लिने र दिने क्रममा महिलाहरुको स्तन छुने र औंलाले थिचिदिने गरेको पिडितहरुले बताएका छन् । ७० वर्षिय पुजारी जितनाथले गरेका दुर्व्यवहारको भिडियो आफुहरुले खिचेको समेत पिडितहरुले बताएकाछन् ।
रूपन्देहीबाट पुगेकी २१ वर्षीया भैरवी-१ का अनुसार भैरवबाबाको मुख्य मन्दिर प्रवेश गरेर पूजा र दर्शन गर्न पाइँदैन। मन्दिरबाहिरका देवीदेवतालाई भने दर्शनार्थी आफैंले फूलभेटी चढाएर पूजा गर्छन्। मुख्य मन्दिरमा दर्शनार्थीले लगेको रोट र भेटी पुजारीमार्फत भैरवबाबालाई चढाइन्छ।
मुख्य पुजारी योगीले मन्दिरमा चढाएर प्रसाद फिर्ता दिने बहानामा आफ्ना हातले महिलाको छातीमा छुने गरेको उनले बताइन्।
पुजारीले दुई हातले टोकरी दिँदा दर्शनार्थीले पनि दुई हातले समाउँछन्। त्यहाँ ठाउँ साँघुरो छ। धेरै पर बस्न मिल्दैन। भित्रपट्टि बसेका पुजारीले लम्किएर टोकरी दिन्छन्। त्यही क्रममा उनले महिलाको छातीमा हात तन्काएर समेत छोएको भिडिओमा समेत प्रस्ट देखिन्छ।
‘त्यो दिन हामीले एकछिन बसेर पुजारीको हर्कत हेर्‍यौं,’ पीडितले भनिन्, ‘उनले टोकरी दिने सबैलाई त्यसै गर्दा रहेछन्।’
मन्दिरबाट दर्शन गरेर बाहिरिएका केही महिला र युवतीलाई यसबारे आफूले सोधेको पनि भैरवी- १ ले बताइन्। उनीहरू सबैजसोले मूल पुजारी योगीले आफूहरूको छाती छोएको बताए। पुरूष साथीहरूको समूहमा गएका महिलाहरूले पनि पुजारीले आफूहरूलाई त्यसैगरी छोएको बताए।
‘पवित्र आस्था र विश्वास बोकेर मन्दिर जाने महिलाहरूमाथि पुजारीले नै यौनजन्य हिंसा गरिरहेका छन्,’ भैरवी- १ ले भनिन्, ‘हामी तत्काल प्रतिवाद गर्न चाहन्थ्यौं। तर त्यो बेला हामीसँग कुनै प्रमाण थिएन। मन्दिरजस्तो ठाउँमा पुजारीलाई के भन्ने होला भनेर डर पनि लाग्यो। हाम्रो कुरा मन्दिर व्यवस्थापन समिति र त्यहाँ भएका अरू दर्शनार्थीले विश्वास नगर्लान् भन्ने भयो।’
यसपछि पीडितहरूले भिडिओ खिचेका थिए। पुजारी योगीले यौनजन्य दुर्व्यवहार गरेको उक्त भिडिओ सेतोपाटीसँग सुरक्षित छ।
भैरवी- १ र उनीसँग गएकाहरूले त्यहाँ केही भन्न नसकी फर्किए। तर त्यो घटनाले आफूहरूलाई बारम्बार झस्काइरहेको उनीहरूले बताए।
भैरवी-१ ले यो कुरा कसैलाई सुनाएकी थिइनन्। उनी मन्दिर पुगेर फर्केको दुई सातापछि उनकी माइजू (भैरवी-२) दर्शनका लागि गइन्। उनलाई पनि पुजारी योगीले त्यसैगरी छातीमा छोए।
‘सुरूमा त मलाई पनि झुक्किएर होला भन्ने लागेको थियो। फर्किने क्रममा सँगै गएकाहरू सबैले पुजारीको हर्कत सुनाएपछि उनले हिंसा गर्दै आएका रहेछन् भन्ने थाहा भयो,’ भैरवी-२ ले भनिन्।

उनीहरू नौ जनाको समूहमा गएका थिए। मन्दिरमा प्रसादको टोकरी चढाएका पाँचै जनालाई पुजारीले त्यसैगरी छातीमा छुने र औंलाले थिच्ने गरेका थिए। त्यसपछि यस्तो विषयमा चुपचाप बस्न नहुने भन्दै भैरवी-२ र पीडितहरूले यसबारे सार्वजनिक गरेका हुन्।

हामीले यसबारेमा मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीलाई सोध्यौं।

मंगलबार हामीले कुरा गर्दा बुढाथोकीले महिलाहरूले हालसम्म कुनै निकायमा उजुरी नदिएको र आफूलाई जानकारी नभएकाले त्यस बारे बुझ्ने बताएका थिए।

बुधबार बिहानै उनले मन्दिर गएर पुजारीको गतिविधि नियाले। शंका लागेपछि उनले मन्दिर परिसरमा रहेको सिसिटिभी क्यामरा खुसुक्क पुजारीले प्रसादको टोकरी फिर्ता दिने ढोकातर्फको दृश्य देखिने गरी फर्काए।

क्यामरामा आफूले कल्पनै नगरेको दृश्य देखेर झस्किएको बुढाथोकीले बताए।

‘पुजारी योगीले महिलाहरूको छाती छुँदै र धक्का दिँदै टोकरी फिर्ता दिएको देखियो। यति ठूलो आस्थाको धरोहर मन्दिरभित्र मुख्य पुजारीबाटै महिलाहरूमाथि हिंसा भइरहेको रहेछ। मन्दिर व्यवस्थापन समितिबाट उनलाई कारबाही हुन्छ,’ व्यवस्थापक बुढाथोकीले भने।

उनले थपे, ‘यो महिलाहरूको आत्मसम्मान र सुरक्षाको विषयको कुरा हो। एक जना पुजारीका कारण मन्दिरप्रतिको आस्था र विश्वासमा आँच आउन पनि दिनु हुँदैन।’

७० वर्षीय योगीबाट महिलाहरूमाथि यस्तो हिंसा भइरहेको होला भनेर आफूले कल्पनै नगरेको उनले बताए। योगी २०५९ सालमा दाङबाट भैरवस्थान मन्दिरको पुजारी भएर गएका थिए।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यस विषयमा हालसम्म प्रशासनमा कुनै उजुरी नपरेको बताए।

‘अहिलेसम्म पुजारी जितनाथ योगीबारे कुनै पनि उजुरी परेको छैन। एक जनाले मात्र उजुरी दिए पनि प्रहरीले पक्राउ गर्छ,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले सेतोपाटीसँग भने।

भैरवस्थान मन्दिर पाल्पाका तत्कालीन सेनवंशीय राजा मणिमुकुन्द सेन प्रथमले १५६५ सालमा भैरवबाबा उत्पत्ति भएको स्थानमा निर्माण गरेको इतिहास छ।
पछि तत्कालीन प्रधानसेनापति खड्ग शमशेरले यहाँ पित्तलको त्रिशुल राखिदिएका थिए। यो त्रिशुल एसियाकै सबभन्दा ठूलो रहेको दावी गरिन्छ। यहाँ एक माना वा एक पाथी चामलको पिठोबाट बनाइएको एउटै रोटी (रोट) चढाउने चलन पनि छ। यहाँ देशभरका र भारतीय समेत गरी दैनिक सयौं धार्मिक पर्यटकहरू पुग्छन्।

  1. (सेतोपाटी डटकमको सहयोगमा)

प्रकाशित : २०८० असार १३ गते २२:१२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology