धनका धनी,मनका धनी;क्याप्टेन बाजी अर्थात सोम बहादुर थापा बराल

कन्दरा न्युज प्रतिनिधि/अमृत मगर
प्रकाशित : २०८० असार २० गते २१:२२

२०८० असार २०

हामी केटाकेटी छँदा तिहारमा देउसी/भैली खेल्थौं । फागु पुर्णिमामा फागु माग्थ्यौं । उबेला पैसाको साह्रै अभाव हुने । भारतीय सेनाको गरिमामय क्याप्टेन पदबाट अवकाश प्राप्त क्याप्टेन बाजी अनि जेठा छोरा नेत्र थापा बराल चाहिँ ब्रिटिस आर्मी । हामी केटाकेटी माझ चर्चा हुने गर्थ्यो “क्याप्टेन बुवाको घरमा जति पैसा त कहाँ होला र?” । “क्याप्टेन बाजीको घरमा देउसी/फागु खेल्न आउनेलाई त कति धेरै पैसा दान दिएर पठाउनुहुन्छ रे! हामी पनि जाउँ न है?” हामी देउसी/फागु टोली एकआपसमा कुरा गर्थ्यौं । ३०/३५ मिनेट टाढा हिँडेर क्याप्टेन बाजीको घर पुग्थ्यौं । “ल साथी हो यहाँ त राम्रोसँग गाउनुपर्छ अनि अलि नाच्न जान्ने मान्छेलाई नचाउनुपर्छ है ।” टोली नाईकेले बिस्तारै साउती मार्थ्यो । नाचगान शुरु हुन्थ्यो । नभन्दै सबैको अपेक्षा भन्दा बढी दान लिएर खुशी हुँदै देउसी-भैली/फागु टोली फर्किन्थ्यो । गाउँभरि डुल्दा जम्मा नहुने दान एकै घरमा पाएपछि अरु के चाहिन्थ्यो र? केटाकेटी उमेर न हो, त्यहीँ एक घर अर्थात क्याप्टेन बाजीको घरका लागि मात्रै पनि आधा घण्टाको उकालो चढिन्थ्यो ।

  • क्या.सोम बहादुर थापा बराल,जेठा छोरा ब्रिटिस आर्मी नेत्र थापा बरालसंग

पुर्वखोलाको लाबे फाँट बाह्रै महिना पानी लाग्ने कुलो भएको निकै सुन्दर र उब्जाउ फाट । त्यहीँ फाटमा क्याप्टेन बाजीको दशौं हल गोरु लाग्ने खेत । प्रत्येक वर्ष पञ्चे बाजागाजा सहितको रोपाइँ हुन्थ्यो । समकालीन समयमा राम्रो खाजा-नास्ता दिने,ज्यालामा पनि कुनै कन्जुस्याइँ नहुँने । त्यसैले वर्षायाम शुरु भएपछि धेरैलाई क्याप्टेन बाजीको रोपाइँ कहिले हुन्छ भन्ने चासो र प्रतीक्षा हुन्थ्यो ।

क्याप्टेन बाजी अर्थात क्या.सोम बहादुर थापा बरालले कहिल्यै पनि अर्काको कुभलो चिताउनुभएन । आफू भारतीय सेनाको क्याप्टेन,छोरा नेत्र थापा ब्रिटिस आर्मी । सबै कुरामा सम्पन्न भएर पनि कुनै घमण्ड,लोभ छैन । उहाँसंग सहि र उचित अपेक्षा राखेर जाने हर कोही निराश भएर फर्किनु परेन ।
देउसी/फागु टोलि देखि,खेतारी-ज्याला मजदुर होस वा गाउँघरका कुनै क्लव,समूह वा विद्यालय । उहाँको परिवारले सहयोग नगरेको कुनै क्षेत्र बाँकी छैन होला ।

परिवारका साथ क्याप्टेन बाजी

गाउँमा कसैको मरण हुँदा क्रियापुत्रीले पँधेरामा नुहाएर खाने चलन छँदैछ । चर्को घाम,हुरिबतास वा पानी परेको बेला खुला पँधेरामा खाना पकाएर खानुपर्ने कम्ती सास्तीको कुरा होइन । यहीँ समस्या बुझ्नुभएका क्याप्टेन बाजीको परिवारले पुर्वखोला-५,शिखरडाँडामा आफ्नै पुर्ण लगानीमा ढलान गरिएको क्रियापुत्री घर निर्माण गरिदिनुभएको छ । त्यस्तै उहाँकै अग्रसरतामा शिखरडाँडाकै भू.पू.सैनिकहरुको समूहले रम्भादेवी मन्दिर समेत निर्माण गर्नुभएको छ । त्यस बाहेक विभिन्न स्थानमा बनेका मन्दिर,विद्यालय वा सार्वजनिक भवनहरुमा समेत थुप्रै आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

बराल परिवारद्वारा शिखरडाँडामा निर्मित क्रियापुत्री घर

हाल तानसेन बडिज्ञानटोल बस्नुहुने क्याप्टेन बाजीले बेला बेलामा आफ्नै पहल र नेतृत्वमा क्यान्सर रोगी,मृगौला पिडित लगायत विभिन्न रोगी,पिडितहरुका लागि समेत सहयोग अभियान चलाउनुहुन्छ ।

श्री खाँणदेवी आ.वि. मा श्रीमति स्व.मनिकला थापा बराल स्मृति अक्षयकोष स्थापनार्थ सम्मानित हुँदै

तीन भाइ,दुई बहिनी छोराछोरी हुनुभएका क्याप्टेन बाजीको जेठा छोरा नेत्र थापा पनि अवकाश प्राप्त ब्रिटिस आर्मी हुनुहुन्छ । हाल बेलायतमै बसोबास गरिरहनु भएका थापा पनि सामाजिक सेवामा उत्तिकै रुचि राख्नुहुन्छ । बेलायतमै रहँदा पनि उहाँले विभिन्न रोगी,पिडितहरुका लागि सहयोग अभियान चलाएर लाखौं रकम नेपाल पठाउनुहुन्छ । उहाँ आफैले कुनै समय आध्यापन गरेको श्री खाँणदेवी आधारभूत विद्यालय,कर्नेडाँडामा आमा स्व.मनिकला थापा बरालको स्मृतिमा १ लाख १ सय १ रुपैयाँ राशीको अक्षयकोष समेत स्थापना गर्नुभएको छ । फुटकर रुपमा दर्जनौं कार्यक्रम,मन्दिर,भवन निर्माण लगायतका कार्यहरुमा समेत आर्थिक सहयोग गरिसक्नुभएको छ । आजसम्म कति राशी बराबरको सहयोग गर्नुभयो भन्ने यो पंक्तिकारको जिज्ञासामा सहयोगको कुनै सिमा र हिसाबकिताब नहुँने बताउनुहुँदै थापाले सहयोगको क्रम निरन्तर जारी रहने र आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गर्न पाउँदा सन्तुष्टि मिल्ने समेत बताउनुभयो ।

आफैंले बुन्नुभएको डोको र खुर्पेटो

भर्खरै मात्र ८४ अौं जन्मदिन मनाउनुभएका क्याप्टेन बाजी अझै पनि उत्तिकै फुर्तिलो र सक्रिय हुनुहुन्छ । गाउँ जाँदा बाँसको चोयाबाट मान्द्रो,ढाकर (डोको), काठको खुर्पेटो बनाउने गर्नुहुन्छ । तानसेन भन्दा गाउँमा बस्न बढी मन पर्ने उहाँले बताउनुभयो ।
निरन्तर सामाजिक सेवामा लागिरहनुहुने क्याप्टेन बाजी र उहाँको परिवारलाई उत्तोरोत्तर प्रगतिको शुभकामना । सुस्वास्थ्य एवं दीर्घायूको कामना । दीन दुखीको सहयोगमा लागिरहने प्रेरणा प्राप्त होस ।

आफ्नै पहलमा निर्मित रम्भा देवी मन्दिरमा पुजा गर्नुहुँदै

क्याप्टेन बाजी(क्या.सोम बहादुर थापा बराल) को ८४ अौं जन्मदिनको अवसरमा पुर्वखोला मिडिया प्रा.लि. र कन्दरा न्युज डट कमको तर्फबाट पनि धेरै धेरै शुभकामना ।


प्रकाशित : २०८० असार २० गते २१:२२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology