विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डेलाई पक्राउ नगरे आन्दोलन थाल्छौं-नेपाल मगर संघ

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०८० साउन १५ गते १९:५१

काठमाडौं:   नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर, मुस्लिम लगायत विभिन्न समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको हो ।

पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दबाब दिन जिल्ला प्रहरी परिसर काठमाडौंमात्रै नभएर देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने संघ अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले देशको विविधता र संविधानअनुसार अभिव्यक्ति दिनुपर्ने उल्लेख गरे ।

पुनमगरले साउन ९ गते अधिवक्ता भगवती पाण्डेविरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरे पनि उनलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको आरोप लगाए ।

यस्तै नेपाल तामाङ घेदुङले पनि पत्रकार सम्मेलनको आयोजना गरी तत्काल पाण्डेलाई पक्राउ गर्न आग्रह गरेको छ । यद्यपी तामाङ घेदुङले पनि देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

अधिवक्ता पाण्डेले एक टेलिभिजनको टक शोमा जातिय सद्भाव भड्किने खालको अभिव्यक्ती दिएकी थिइन् । त्यसपछि उनी आलोचित हुदै आएकी थिइन् ।

चौतर्फी दबाबपछि पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर अहिलेसम्म उनलाई पक्राउ गरिएको छैन ।


प्रकाशित : २०८० साउन १५ गते १९:५१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology