दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ११ अौ वार्षिक साधारणसभा शिखरडाडा मा सम्पन्न

अमृत काम्मु
प्रकाशित : २०८० पुष २४ गते ७:०६

पाल्पा,पुर्वखोला
पौष २३,शिखरडाँडा
पुर्वखोला-५,शिखरडाँडामा रहेको दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ११ अौ वार्षिक साधारणसभा आज शिखरडाँडामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला-५,वीरकोटका वडा सदस्य याम बहादुर सारुले सहकारीले सदस्यहरुलाई बचत र ऋण प्रवाह संगसंगै उद्यमी बनाउनु तिर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले आजभोलि मानिसहरु अल्छी बनेका कारण आम्दानीको स्रोत बन्द भएको र सम्पूर्ण दैनिक उपभोग्य सामानहरुका लागि बजारमाथि निर्भर हुँदा ऋणमा डुब्दै जान लागेको बताउनुभयो । घरघरमै कृषि उत्पादनका क्रियाकलाप गरेमा मात्रै पनि बचत बढ्ने उल्लेख गर्नुहुँदै प्रमुख अतिथि सारुले सहकारी बचाउनका लागि ऋणको सहि सदुपयोग गर्ने र बेलैमा तिर्ने बानीको विकास गर्नुपर्ने अौंल्याउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि अमृत काम्मु मगरले आर्थिक व्यवस्थापनको अभावले गर्दा अहिले जताततै सहकारी तथा वित्तीय संस्थाहरुमा संकट पैदा भईरहेको बताउनुभयो । उहाँले आम्दानी र खर्चको सहि हिसाब किताब नराखिकन जथाभावी ऋण निकाल्ने प्रवृत्तिले गर्दा विशुद्ध सामाजिक संस्था तथा सहकारीहरु समेत चल्न नसक्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले ऋणीहरुले समयमै ऋण भुक्तानी नगर्दा बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिने अवस्था बनेको समेत उल्लेख गर्नुभयो । “विदेशमा बस्ने एक जना मानिसले मासिक २५ हजार तलब पाउँछ । तर उसको घरपरिवारका सदस्यले एउटा संस्थामा मात्रै मासिक कम्तिमा ५ हजार किस्ता तिर्ने गरि ५/६ वटा संस्थामा ऋण लिएको हुन्छ । भनेपछि उसको मासिक किस्ता तिर्नुपर्ने ऋण नै ३० हजार जति हुनेभयो । अब २५ हजार कमाउने मान्छेले आफ्नो पुरै तलब पठाए पनि किस्ता तिर्न नपुग्ने भयो । अन्य घरायसी राशनपानीको खर्च त अझै छुट्टै छँदैछ । ” उहाँले भन्नुभयो । वित्तीयसंस्थाहरुको ऋणले गर्दा घरबास नै छाड्नुपर्ने अवस्था आईपुगेको उल्लेख गर्नुहुँदै उहाँले घरायसी सागपात,तरकारी,मसलाजन्य सामाग्रीहरुमा आत्मनिर्भर भएमा मात्रै आर्थिक सुधार हुनसक्ने बताउनुभयो । सहकारी नाफामा जाँदा त्यसको बोनस प्रत्येक सदस्यलाई दामासाहीले भाग लाग्ने हुँदा सहकारीलाई दीगो बनाउन सबै सदस्यको जिम्मेवारी रहेको बताउनुहुँदै विशिष्ट अतिथी मगरले समयमै ऋण तिर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं श्री दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष सावित्रा झेंडी थापाले सहकारीले करिब १ करोड बराबरको कारोबार गरेको जानकारी दिनुभयो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै थापाले विभिन्न शिर्षकमा करिब ६१लाख ५० हजार बचत रहेको र ती सबै बचत ऋण लगानीमा रहेको तथा जगेडा कोषमा १२ लाख ६७ हजार रहेको तथ्यांक उल्लेख गर्नुभयो । हाल संस्था ३ लाख ६० हजार रुपैयाँको मुनाफामा रहेको समेत उहाँको बताउनुभयो ।
सो अवसरमा ऐच्छिक बचत तर्फ प्रथम हुने ईन्द्रकला बारघरे,द्वितीय हुने झविसरा काम्मु र तृतीय हुने गौमाया सारु तथा बालबचततर्फ उत्कृष्ट तीन बचतकर्तालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष पार्वती हिताङको स्वागत मन्तव्य तथा लेखा समिति संयोजक विष्णुमाया काम्मुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका व्यवस्थापक माया कुमारी काम्मुले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन ईन्द्रकला बारघरेले गर्नुभएको थियो । संस्थामा साविक वीरकोट गा.वि.स.का २४८ जना सदस्यहरु आवद्ध रहेका छन् ।


प्रकाशित : २०८० पुष २४ गते ७:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology