एनआरएनए कतार र सामुदायिक प्रहरी विभागबीच ११ बुँदे सहकार्यको समझदारी

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ २४ गते १८:३६

दोहा, कतार | मे २७

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतार र कतारको सामुदायिक प्रहरी विभागबीच ११ बुँदे सहकार्यमा सहमति भएको छ। मे २७ तारिख मङ्गलबारका दिन कतारको आन्तरिक मन्त्रालयअन्तर्गतको सामुदायिक प्रहरी विभागसँग सम्पन्न भेटघाट तथा छलफलमा दुबै पक्ष सहकार्यका लागि प्रतिबद्ध भएका हुन्।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, वरिष्ठ उपाध्यक्ष कृष्ण पन्थी, र द्वितीय उपाध्यक्ष केशव कार्कीको सहभागितामा भएको सो बैठकमा प्रवासी नेपाली समुदायको सुरक्षा, जनचेतना, र सामाजिक समावेशीकरणका विषयमा केन्द्रित छलफल भएको थियो।

भेटका क्रममा कतार सामुदायिक प्रहरी विभागका निर्देशकले प्रवासी कामदारहरूप्रति सकारात्मक दृष्टिकोण राख्दै दुबै समुदायबीच आपसी समझदारी बढाउन आवश्यक रहेको धारणा राखेका थिए।

११ बुँदे सहकार्यको मुख्य अंश यस प्रकार छ:

  1. सामुदायिक प्रहरीसँग सहकार्य: चारवटा सामुदायिक प्रहरी कार्यालयसँग नियमित सम्पर्क र सम्बन्ध सुदृढ बनाउने।
  2. कोर्निश क्षेत्रमा जनचेतना कार्यक्रम: प्रवासी कामदारलाई लक्षित गरी सुरक्षा, अधिकार र सेवा सुविधाबारे जानकारी दिने कार्यक्रम।
  3. सार्वजनिक हलको व्यवस्था: हरेक तीन महिनामा एकपटक जनचेतना कार्यक्रम गर्न हलको माग।
  4. लाइफ ज्याकेट अनिवार्यता अभियान: डुङ्गा प्रयोगकर्ताबीच पानी सुरक्षा सचेतना फैलाउने।
  5. आपसी सद्भाव कार्यक्रम: कतारी र प्रवासी समुदायबीच सांस्कृतिक आदानप्रदान र समझदारी बढाउने।
  6. लिमोजीन चालक तालिम: यातायात नियम तथा सुरक्षित सवारी सञ्चालनसम्बन्धी तालिमको आयोजना।
  7. वातावरण दिवस मनाउने: पंक्षी उडाएर वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता प्रकट गर्ने।
  8. स्वास्थ्य जाँच शिविर: श्रमिक समुदायका लागि स्वास्थ्य परीक्षणको व्यवस्था।
  9. महिला प्रवासीका लागि विशेष जनचेतना कार्यक्रम: सुरक्षामा केन्द्रित महिला लक्षित कार्यक्रम।
  10. लागूपदार्थ विरोधी जनचेतना: लागूपदार्थ र मदिरा दुरुपयोग विरुद्ध सचेतना फैलाउने।
  11. नेपाली कैदी रिहाइको पहल: सामान्य अपराधमा सजाय भोगिरहेका नेपालीको दया माफीका लागि अनुरोध।

एनआरएनए कतारका महासचिव रबिन मगरले जानकारी गराएअनुसार, यो सहकार्य नेपाली समुदायलाई थप सुरक्षित, सम्मानजनक र जानकारीमूलक जीवनयापनमा सहयोग पुर्‍याउने लक्ष्यसहित अगाडि बढाइएको हो। “प्रहरी प्रशासनसँगको यो सहकार्यले सामाजिक उत्तरदायित्वमा पनि नेपाली समुदायको भूमिकालाई बलियो बनाउनेछ,” उनले भने।


 


प्रकाशित : २०८२ जेठ २४ गते १८:३६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology