साउन २३, रामपुर (पाल्पा) — निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ प्रति पाल्पाका ६ राजनीतिक दलले आपत्ति जनाएका छन्।
नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक राजेन्द्र बिक, राष्ट्रिय स्वतन्त्र पार्टीका सह–संयोजक सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवर, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अशोककुमार शाही, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि होमबहादुर थापाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ— “आयोगले संघीय कानुनको दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा अलग कानुन मस्यौदा तयार गरी संघीय संसदको अधिकारक्षेत्र अतिक्रमण गरेको छ। यसले दलहरूको आन्तरिक स्वायत्ततामा हस्तक्षेप गर्दै सत्तारुढ दुई दलको वर्चस्वलाई संस्थागत गर्ने अधिनायकवादी प्रवृत्ति देखाएको छ, जुन अस्वीकार्य छ।”
छ दलले उक्त मस्यौदा तुरुन्त रोक्न तथा संविधान, प्रचलित कानुन, लोकतान्त्रिक मूल्य र विधिको शासनको सम्मान गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छन्।
प्रकाशित : २०८२ साउन २४ गते १७:४५
Facebook Comment