श्री सत्यवती देवीको नवनिर्मित मन्दिर समुद्घाटन सम्पन्न

माधब पाण्डे
प्रकाशित : २०८३ वैशाख २७ गते १४:०६

पाल्पा । पूर्वखोला गाउँपालिका–२ जल्पामा निर्माण गरिएको श्री सत्यवती देवीको नवनिर्मित मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता जल्पा वडाका जनप्रतिनिधि श्री नीर बहादुर सारुले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननीय श्री खेम बहादुर सारुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, गाउँपालिका प्रशासकीय अधिकृत राजु नेपाल तथा गाउँपालिका प्रवक्ता मेहर सिंह सारुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष नीर बहादुर सारुले सत्यवती देवी मन्दिर धार्मिक आस्था, संस्कृति र सामाजिक एकताको केन्द्रका रूपमा विकास हुँदै गएको बताउनुभयो । उहाँले मन्दिर क्षेत्रको संरक्षण तथा थप पूर्वाधार विकासमा वडा कार्यालय निरन्तर लागिरहने उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउँदै यस्ता धार्मिक स्थलहरूले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक विकासमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।
त्यसैगरी गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले धार्मिक स्थलको विकासले गाउँपालिकाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गाउँपालिका प्रशासकीय अधिकृत राजु नेपालले धार्मिक तथा सामाजिक गतिविधिले समुदायमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
गाउँपालिका प्रवक्ता मेहर सिंह सारुले सत्यवती देवी मन्दिरको प्रचारप्रसार र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । साथै, धार्मिक पर्यटनको विकाससँगै स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रम सञ्चालन जल्पा स्वास्थ्य चौकी प्रमुख पदम बहादुर दर्लामीले गर्नुभएको थियो ।


प्रकाशित : २०८३ वैशाख २७ गते १४:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology