पाल्पा जिल्लाको रिमिघा लेक पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइँ बन्दै गएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा अवस्थित यो रमणीय लेक प्राकृतिक सौन्दर्य, शीतल वातावरण र मनोरम दृश्यावलोकनका कारण चर्चामा आउन थालेको हो ।
जिल्लाकै दोस्रो अग्लो स्थानका रूपमा परिचित रिमिघा लेकबाट श्रीनगर डाँडा, माडी फाँट, रामपुर उपत्यका, पाल्पा–स्याङ्जा–गुल्मीको संगमस्थल रिडी तथा नागबेली आकारमा बगेको कालीगण्डकी नदी अवलोकन गर्न सकिन्छ । साथै मौसम खुलेको समयमा धौलागिरी हिमाल, अन्नपूर्ण हिमश्रृंखला र माछापुच्छ्रे हिमाल समेत प्रष्ट देख्न सकिन्छ ।
विशेषगरी सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य, हरियाली जंगल, चिसो हावा र शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय बताउँछन् । पछिल्लो समय तस्बिर तथा भिडियो खिच्न, घुमफिर गर्न र प्रकृतिसँग रमाउन युवापुस्ता तथा आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ ।

प्रकाशित : २०८३ वैशाख २७ गते १७:२८
Facebook Comment