रामपुर साना शहरी खानेपानीको ब्लक स्तरीय साधारणसभा सुरु

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८३ वैशाख २८ गते १२:०६

रामपुर, पाल्पा | बैशाख २७ | रमा भण्डारी
रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था ले ब्लक नम्बर २ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रमण बहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष विष्णुमाया ढकालले स्वागत मन्तव्य राख्दै शुद्ध खानेपानी उपभोक्तासम्म पुर्‍याउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खानेपानी क्षेत्रमा उपभोक्ताको लगानी र अपनत्व बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नगरप्रमुख थापाले पानसमा बत्ती बालेर तथा गमलामा पानी राखेर साधारणसभाको उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्यमा उहाँले मानव जीवनका लागि हावा र पानी अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै शुद्ध पानीको महत्वबारे प्रकाश पार्नुभयो। पछिल्लो समय पानीका स्रोत सुक्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भू–जल संरक्षण र रिचार्जमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै खानेपानी आपूर्ति वृद्धि, खोलानाला संरक्षण तथा वैकल्पिक स्रोतको खोजीमा लाग्नुपर्ने बताउनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले संस्थाको वर्तमान अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष भोजराज भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाको कुल आय ६ करोड ६३ लाख ७६ हजार ९१९ रुपैयाँ र खर्च ४ करोड ६९ लाख ६७ हजार ६९६ रुपैयाँ रहेको जानकारी दिनुभयो।
ब्लक नम्बर २ का संयोजक टोपलाल ढकालले उपभोक्ताबाट पानी महशुल घटाउनुपर्ने माग आएको जानकारी गराउँदै हाल एक करोड ८९ लाख रुपैयाँ बराबरको काम भइरहेको बताउनुभयो।
कार्यक्रममा उपभोक्ता हुमनाथ न्यौपाने, सागरप्रसाद देवकोटा, सुन्दर देवकोटा, सावित्रा कुमाल तथा नेपाल पत्रकार महासंघ पाल्पा की उपाध्यक्ष बन्दना पोखरेलले उपभोक्ताको अपेक्षा र संस्थाले गरेका प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो।
सञ्चालक समिति सदस्य विष्णुप्रसाद आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव नीलकण्ठ पोखरेलले गर्नुभएको थियो। कार्यक्रम नवदुर्गा माध्यमिक विद्यालय को सभाहलमा सम्पन्न भएको थियो।

फिचर पोस्ट 


प्रकाशित : २०८३ वैशाख २८ गते १२:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology