‌”अटल सपना,निरन्तरको साधनाले सफलता हासिल गर्न सम्भव छ।” नेपाल सरकारको शाखा अधिकृत छक लाल आले ।

माधब पाण्डे
प्रकाशित : २०८२ वैशाख २७ गते ११:१३

‌”अटल सपना , निरन्तरको साधनाले सफलता हासिल गर्न सम्भव छ।” लोक सेवा आयोगको परीक्षा उतीर्ण गरी नागरिक र राष्ट्रको सेवा गर्ने तिव्र लालसाका साथ विभिन्न पद र तहहरुमा बर्सेनी लाखौंको सङ्ख्यामा आवेदन आउने गर्दछन् र परिक्षामा सहभागी परिक्षार्थीमध्ये कति सफल त कति असफल हुने गर्दछन्।लोक सेवा सफलताको रहस्य के होला?लोक सेवाको तयारी कसरी गर्न सकिन्छ?सरकारी जागिरका लागि युवाको आकर्षण किन ?आदि विषयमा केन्द्रित रहेर आफ्ना अनुभव सहित नेपाल सरकारको शाखा अधिकृत छक लाल आले सङ्ग कन्दरा न्युजका संवाददाता माधव पाण्डेले गरेको छोटो संवादको सम्पादित अंश।

१.नेपाल सरकारको नवनियुक्त शाखा अधिकृतको रुपमा अहिले तालिमकै क्रममा हुनुहुन्छ ,कस्तो महसुस गर्दै हुनुहुन्छ ?
आफुले सांचेका रहरले कयौँ वसन्तको प्रत्यागमन पछी अन्नत मुर्तरुप पाएकोमा पक्कै पनि खुसि र उमङ्गको अनुभूति त छ नै, अर्को अर्थमा एकातिर पढाईको बोझ बिसाउदा हलुका भएजस्तै महसुस भईरहेको छ भने अर्कोतिर पद र जिम्मेवारीको गहनताले मलाई गम्भीर पनि तुल्याएको छ।

२.तपाईको पारिवारिक र समुदायको पृष्ठभूमिलाई संक्षिप्तमा भनिदिनुहोस् न।
लाहुरे बाबा र सङ्घर्षशिल आमाको ठूलो परिवारमा कान्छा छोराको रुपमा ढोलीमारा भन्ने पाल्पाको सुदुर गाँऊमा जन्मेको हुँ।बाबाको साथ सानैमा टुट्दा पारिवारिक जिम्मेवारीलाई आफ्नो कांधमा लिएर दुखजिलो गर्दै आमाले हामीलाई हुर्काउनुभयो,पढाउनुभयो।म पढाईमा ठिकै,मध्यम विद्यार्थी थिएँ।म कक्षाको पुस्तकभन्दा अतिरिक्त पुस्तकमा बढी फोकस हुन्थेँ।मेरो बाल्यकाल गाँऊमै घाँसपात,धुलोमाटोमा नै बितेको थियो।समुदायमा मगर समुदायको बाहुल्यता थियो।सरकारी सेवामा प्रवेश गर्नेहरु शुन्यप्राय नै थियो।
३.तपाईको निजामती सेवाको प्रवेश र सङ्घर्षको बारेमा जानौ न।
उमेर दुई दशकको वरिपरि हुदा खरिदारमार्फत निजामती सेवामा प्रवेश पाएँ र जनप्रतिनिधिविहिन अवस्थामा गा.वि.स. मा सचिवको भुमिका निर्वाह गरे।२०७५ सालमा ना.सु. मा उतीर्ण भई लेखापाल भई विभिन्न कार्यालयमा सेवा गर्ने सुअवसर प्राप्त भयो।लामो समयको पर्खाई र मेहनतको फलस्वरुप २०८१ सालमा नेपाल सरकारको शाखा अधिकृत भई अहिले ब्याट-३९ को प्रशिक्षार्थी अधिकृतको रुपमा तालिममा छु।
४.अहिले नागरिक र राष्ट्रको सेवा गर्ने स्थानमा आफुलाई राख्दा सेवा प्रवाहका मुल मन्त्र केलाई मान्नुहुन्छ?
महत्वपुर्ण सवालको लागि धन्यवाद।सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी तुल्याउने सेवा प्रदायकको दायित्व र धर्म हो।म जहिले पनि निष्ठा र सेवाभावलाई नै केन्द्रविन्दुमा राखेर कामप्रति प्रेरित थिएँ।अब पनि यही मुलमन्त्रले मलाई मार्गदर्शन गर्नेछ।।
५.लोक सेवा आयोगको सफलताको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
आमाबालाई समर्पित गर्न चाहन्छु।मेरो परिवार र सिङ्गो समुदायको साथ समर्थन छ।सफलताको विशेष हकदार आमा हो।उहाँ हामीमाझ रहनुहुन्न तर म जे छु,उहाँ कै कारणले छु।अनि लोक सेवा आयोग पनि धन्यवादको पात्र हो,मलाई विश्वास गरेकोमा।
६.लोकसेवामा युवाको आकर्षणलाई कसरी नियालीरहनुभएको छ?
लोकसेवा आयोगमा कसैको पहँच र भनसुनबाट मुक्त विश्वासयोग्य संस्था हो।यसमा सफल हुनुमा विशुद्ध आफ्नो दम,क्षमता र मिहिनेतमा निर्भर गर्दछ।पछिल्लो समयमा युवाहरु विदेश पलायन भएको कुरा यथार्थ हो तर लोक सेवामा आकर्षक पनि बढीरहेकै पाउदछुँ।अहिले तीन तहको सरकार भएकोले विज्ञापन पनि धेरै खुल्छ।फेरि सूचना र प्रविधीको माध्यमबाट सूचना पनि पुग्ने भएकोले आवेदन दिनेको सङ्ख्या पनि बढेको जस्तो लाग्छ।निजामती सेवाको विशेषता र अवसरले पनि झुकाव हुने हो।बेरोजगारीको समस्या पनि विकराल छ नि।
७.लोक सेवा उत्तीर्ण हुने रामवाण के होला?
औषधीको जस्तै पेस्क्राईब गर्ने विज्ञ त म होईन।(हाँसो)तैपनि मेरो अनुभव र भोगाईको निर्क्यौलमा दिवारबिहिन सपना,सपनालाई प्राप्त गर्ने अन्तरसंस्करणबाटको दृढ अठोट,पराजयलाई परास्त गर्न सक्ने बलियो मानसिकता र सिलसिलायुक्त सिमारहित निरन्तरता होला।
८.लोक सेवाको माहोल पछिल्लो समयमा यो क्षेत्रमा कस्तो देख्नुहुन्छ?
ईमान्दारितापुर्वक भन्ने हो भने स्नातक सकिदासम्म मलाई लोक सेवा आयोगको बारेमा कुनै जानकारी थिएन।अहिले त पालिकाहरुमा लोक सेवाको अभिमुखीकरण कार्यक्रम हुन्छ।अहिले कम्तीमा सुसुचित हुने वातावरण छ।तर अझै पनि यो क्षेत्रमा सरकारी सेवामा प्रवेश गर्ने नगण्य नै छन्।हाम्रो भुमिका पनि यसमा हुनुपर्छ जस्तो लाग्छ।
९.लोक सेवा आयोग तयारीको थालनी गर्ने सोच बनाउदै गरेका र तयारी गर्दै गरेकाहरुलाई तयारीको सन्दर्भमा तपाईको सुझाव र सन्देश के छ?
सुरुवातमा आफुले परीक्षा दिने पदसङ्ग सम्बन्धित पाठ्यक्रम बमोजिम सान्दर्भिक सामाग्रीको छनौट र अध्ययन गर्न,प्रमाणित र अध्यावधिक तथ्य,तथ्याकंमा केन्द्रित रहन,फरमेटमा आधारित अभ्यासहरु अधिकतम गर्न र परिक्षामा समयसिमा मै सबै प्रश्नको समाधान गर्न म सुझाव दिन चाहन्छु साथै सम्पुर्णलाई सफलताको शुभेच्छा समेत यही प्लेटफर्मको उपयोग गरि भन्न चाहेँ।जय लोक सेवा।धन्यवाद।


प्रकाशित : २०८२ वैशाख २७ गते ११:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology