जेठ १८, रामपुर, पाल्पा – रमा भण्डारी
सामुदायिक बन उपभोक्ता महासंघ रामपुरले आफ्नो ३०औं स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएको छ। महासंघका अध्यक्ष बिन्दु श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख अतिथि खनालले जलवायु परिवर्तनको समस्या वन संरक्षण नहुँदाको प्रत्यक्ष परिणाम भएको बताउँदै, “वन हाम्रो सम्पत्ति हो, यसलाई सबैले संरक्षण गर्नुपर्छ,” भन्नुभयो।
त्यसैगरी, पूर्व लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनालले सामुदायिक वन क्षेत्रमा बारम्बार हुने अवैध तथा अमानवीय कार्यहरू वनको लागि हानिकारक भएको भन्दै उपभोक्ताहरूले सजग भएर संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम तेजकुमारी बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रममा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले स्थापना दिवसको शुभकामना दिँदै, “सामुदायिक वनमा सरकारको असक्षमता हटाई समुदाय स्वयं जिम्मेवार हुनुपर्छ,” भन्नुभयो।
सो अवसरमा वडा नं. ८ का पूर्व वडाध्यक्ष बोमबहादुर नामजाली, महासंघका पूर्व सल्लाहकार सिता डोटेल, राम्चे सामुदायिक वन अध्यक्ष विष्णुप्रसाद बस्याल, पत्रकार रमा भण्डारी, सहभागी कृष्ण प्रसाद बाग्ले, रेमबहादुर राना, मैना श्रेष्ठलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको संचालन लेखा समिति संयोजक गोपाल श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रम राम्चे सामुदायिक वनको सभाहलमा सम्पन्न भएको थियो।
प्रकाशित : २०८२ जेठ १९ गते १९:५५
Facebook Comment