पाल्पा, पूर्वखोला जेष्ठ २० |
पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका वडा नं. ३ मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न गरिएको छ। वडास्तरीय बजेट तर्जुमा प्रक्रिया अन्तर्गत आयोजना गरिएको कार्यक्रम वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्व तथा वर्तमान जनप्रतिनिधि, समाजसेवी, शिक्षक, कर्मचारी, युवासंघ, महिला समूह तथा अन्य सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले वडाका आवश्यकता र सम्भावना पहिचान गरी सहभागितामूलक बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। विशेषगरी ग्रामीण सडक मर्मत, खानेपानी व्यवस्था, बाढी–पहिरो नियन्त्रण, कृषि उपकरण तथा तालिम, महिला उद्यमशिलता र युवाका लागि सीपमूलक तालिम कार्यक्रमहरूमा बजेट छुट्याउनुपर्ने मागहरू राखिएका थिए।
पालिका स्वास्थ्य प्रमुख मोहन ढकालले “कागजमा मात्र योजना नहोस्, देखिने र अनुभूत हुने कार्यक्रमहरू लागू गर्नुपर्छ,” भन्दै योजना छनोटमा सावधानी अपनाउनुपर्ने बताए।
स्थानीय कलेज व्यवस्थापन समितिका अध्यक्ष इश्वरी न्यौपानेले क्याम्पसमा विद्यार्थी अभावका कारण सिकाइ प्रक्रियामा असर परेको बताए। उनले शिक्षा क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गरे।

वडाध्यक्ष भट्टराईले प्राप्त सुझावहरूलाई समेट्दै यथासम्भव समावेशी र आवश्यकतामा आधारित बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित : २०८२ जेठ २१ गते १९:४६
Facebook Comment