पूर्वखोलामा किशोरीमा रक्तअल्पता : स्वास्थ्य परीक्षणमा ७ प्रतिशत प्रभावित
www.kandaranews.com प्रकाशित : २०८२ जेठ २४ गते ७:५५
पूर्वखोला (पाल्पा), जेष्ठ २२
पूर्वखोला गाउँपालिका–३ मा अवस्थित दुई विद्यालयमा गरिएको स्वास्थ्य परीक्षणमा ७ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) पाइएको छ। किशोरीहरूको पोषण अवस्था मूल्याङ्कन गर्न गरिएको परीक्षणमा १०९ जना सहभागीमध्ये करिब ८ जनामा रक्तअल्पता देखिएको हो।
उदबुद्धा माध्यमिक विद्यालय र जनउज्ज्वल आधारभूत विद्यालयमा अध्ययनरत किशोरीहरूमा रक्तअल्पता परीक्षण रिङ्गनेरह स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न गरिएको हो।
स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्यका अनुसार परीक्षणले किशोरीहरूको पोषण अवस्थाबारे चिन्ताजनक संकेत देखाएको छ। “रक्तअल्पता पोषणको कमीसँग प्रत्यक्ष सम्बन्धित समस्या हो। यसले किशोरीहरूको शारीरिक र मानसिक विकासमा असर पार्न सक्छ,” उहाँले भन्नुभयो।
यसबीच, पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले किशोरीहरूको पोषण सुधार गर्न पालिकाले विशेष कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो। “विद्यालयस्तरमै यस्ता स्वास्थ्य परीक्षण र पोषणमूलक कार्यक्रम नियमित गरिनेछ,” उहाँले बताउनुभयो।
स्वास्थ्य परीक्षण कार्यक्रम विद्यालय, स्वास्थ्य चौकी र पालिकाको संयुक्त पहलमा सम्पन्न भएको हो। स्थानीय तहको अगुवाइमा आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
Facebook Comment