आर्यभन्ज्याङ–रामपुर सडक फेरि जीर्ण, स्थानीयमा असन्तोष

www.kandaranews.com
प्रकाशित : २०८२ जेठ ३२ गते १४:२६

पाल्पा — पाल्पा जिल्लाको आर्यभन्ज्याङ, ताहु, बिरकोट, सिलुवा हुँदै रामपुरसम्म जोड्ने करिब ४८ किलोमिटर लामो सडक अहिले फेरि जीर्ण अवस्थामा पुगेको छ। केही वर्षअघि उक्त सडकमा पिच गरिएको थियो, तर निर्माणको गुणस्तर राम्रो नभएकाले अहिले त्यो पिच उखेलिँदै सडक फेरि कच्ची बनेको स्थानीयको गुनासो छ।

सडकको अवस्थाका कारण चिदिपानी, हुमिन, ताहु, जब्गादी, हटिया, बिरकोटजस्ता बजार क्षेत्रमा सटरहरू बन्द हुन थालेका छन् भने व्यापार व्यवसायमा गिरावट आएको स्थानीय व्यवसायीहरू बताउँछन्। वर्षायामको सुरुवातसँगै सडक हिलाम्य र चिप्लो बन्दै गएको छ, जसले पैदल हिँड्नेदेखि सवारी चलाउनेहरूसम्मलाई सास्ती दिएको छ। यात्रु, विद्यार्थी, बिरामी र ग्रामीण क्षेत्रका कृषकहरू प्रभावित भएका छन्।

स्थानीयवासीहरू सडक मर्मत सधैं वर्षायाममै सुरु हुने गरेकोमा असन्तुष्टि व्यक्त गर्छन्। “सडक मर्मतको समय हिउँद हो, तर यहाँ त काम बर्खामै सुरु हुन्छ, अनि आधा काम वर्षाले बगाउँछ,” ताहुका एक स्थानीयले भने। समयमै योजना नबनाउने, गुणस्तरीय निर्माण नगर्ने र दीर्घकालीन सोच नअपनाउने बानीले समस्या दोहोरिएको उनीहरूको बुझाइ छ।

हाल आर्यभन्ज्याङदेखि चिदिपानी खण्डसम्म पिच गर्ने काम सुरु भएको छ। यो कार्य सकारात्मक भए पनि सम्पूर्ण सडक सुधार नहुँदासम्म समस्या समाधान नहुने स्थानीयको धारणा छ। उनीहरू स्थायी समाधान, गुणस्तरीय निर्माण, र हिउँदमा काम हुने प्रबन्धको माग गरिरहेका छन्।

यस क्षेत्रका बासिन्दा लामो समयदेखि सडक सहज होस् भन्ने आशामा बसेका छन्। विकास योजनाहरूमा समय र मौसमको उपयुक्तता ख्याल नगरी गरिने कामले जनतामा निराशा बढाएको छ। अब भने स्थायित्व, पारदर्शिता र जनसहभागितामा आधारित कामको अपेक्षा गरिएको छ।


प्रकाशित : २०८२ जेठ ३२ गते १४:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology