पाल्पा —पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ । दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए ।दुर्घटनामा परी बगनासकाली गाउँपालिका–१, घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्दै आएका ४६ वर्षीय विनोद ढुंगानाको पहिचान खुलेको थियो भने अर्का एक जनाको सनाखत भएको थिएन । सनाखत हुने मृतकमा स्याङ्जाको गल्याङ्ग नगरपालिका–७ घर भई बुटवल–११ बस्ने ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको बोलेरो लु १ च ६७५६ नम्बरको जिप दुर्घटना हुँदा तीनजना घाइते भएका थिए । उचपारका लागि अस्पताल लगेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र सुनारको मिसन अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन् । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । अस्पतालका कम्पनी सचिव कृष्णप्रसाद पराजुलीका अनुसार घाइते खड्काको अवस्थामा सुधार आएको छ ।जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा झन्डै ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पूर्वखोलाबाट प्रहरी नायब निरीक्षक र प्रहरी चौकी ताँहुबाट खटिएका प्रहरी तथा स्थानीयले घाइतेको उद्दार गरी अस्पताल पठाएका थिए । सडक चिप्लो र ओरालो भएको स्थानमा दुर्घटना भए पनि कारण खुलेको छैन ।
प्रकाशित : २०८२ असार ३ गते ८:२३
Facebook Comment