रामपुर (पाल्पा), असार १४
रामपुर नगरपालिका–५ ले हरियाली प्रवर्द्धन तथा फलफूल उत्पादन अभिवृद्धि गर्ने उद्देश्यका साथ २ सय ४० वटा कटहरका विरुवा रोपेको छ।
वडाले हरेक वर्षजस्तै यस वर्ष पनि सार्वजनिक जग्गामा फलफूलका विरुवा रोप्ने अभियान सञ्चालन गरेको हो। ‘हरियाली रामपुर शहर’ भन्ने नारालाई सार्थक बनाउन वडामा रहेका खाली जमिनमा विभिन्न जातका विरुवा रोपिएको वडा सदस्य माया नेपालीले जानकारी दिनुभयो।
वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलका अनुसार, अघिल्लो वर्ष पनि सेन्टारी क्षेत्रमा आँप, कटहरलगायतका विरुवा रोपिएको थियो। यस वर्ष सोही क्षेत्रलाई “कटहर जोन” का रूपमा विकास गर्ने लक्ष्यअनुरूप करिब २४० कटहरका विरुवा रोपिएको बताउनुभयो। अध्यक्ष पोखरेलले भने, “कटहरले उपभोगका साथै आम्दानी पनि दिने भएकाले यसलाई प्राथमिकता दिइएको हो।”
वडाले “एक घर दुई विरुवा” भन्ने नाराका साथ पूर्ण अनुदानमा आँप, कटहर, एवोकाडो, मेवा, लिची, रानी बेल र शितलचिनी जातका विरुवा वितरण गर्दै आएको छ। यस वर्ष पनि विरुवा वितरणका लागि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
वडा सदस्य माया नेपालीले सेन्टारी क्षेत्र खोलाले घेरेको, पहिरो जोखिमयुक्त क्षेत्र भएकाले समेत वातावरण संरक्षणका लागि त्यहाँ विरुवा रोपिएको बताउनुभयो। उहाँका अनुसार, अघिल्लो वर्ष रोपिएका विरुवाहरू राम्रोसँग हुर्किरहेका छन् र यो क्षेत्रलाई “कटहर पकेट क्षेत्र” का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
बृक्षारोपण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बासिन्दा, भम्वक युनाइटेड क्लबका सदस्य तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको वडा सदस्य ईश्वरी कुमारी काफ्लेले जानकारी दिनुभयो।
प्रकाशित : २०८२ असार १५ गते ६:५५
Facebook Comment