पूर्वखोला (पाल्पा), असार २२
पूर्वखोला गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको हो।
असार ८ गतेदेखि सुरु भएको अधिवेशनमा चारवटा बैठक बसेका थिए। अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक, बाल संरक्षण नीति, नीति तथा कार्यक्रम, विनियोजन विधेयक पारित गरिनुका साथै व्यवसायिक कृषक, उत्कृष्ट उपभोक्ता समिति तथा उदाहरणीय कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको थियो।
पूर्वाधार र उत्पादनमुखी योजनामा प्राथमिकता
संघीय समपूरक बजेट अन्तर्गत खल्लुक–भाङ्ज्याङ–बिर्ता सडक स्तरोन्नति योजनाका लागि १ करोड ३५ लाख, प्रदेश समपूरक बजेटअन्तर्गत सेर्काबास–हेकलाङ सडकका लागि ९० लाख, तथा हटिया जनमार्ग मावि सडक स्तरोन्नतिका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।
संघीय विशेष बजेटबाट विद्यालय ICT व्यवस्थापनका लागि ७३ लाख रुपैयाँ छुट्याइएको छ भने प्रदेश विशेष बजेटबाट सुन्तलाजात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरणका लागि वडा नं. २ जल्पा र वडा नं. ५ बिरकोटमा १८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्थानीय कार्यक्रम र सेवा विस्तारमा समेत जोड
गाउँपालिका तहमा विभिन्न सामाजिक तथा पूर्वाधार कार्यक्रमहरू सञ्चालन गरिनेछ।
त्यसमध्ये:
- आकस्मिक तथा विपद् व्यवस्थापन – २० लाख
- युवा स्वरोजगार – ८ लाख ५० हजार
- मानसिक परामर्श कार्यक्रम – ५ लाख
- मगर भाषा संरक्षण – ३ लाख
- बालमैत्री स्थानीय शासन – १२ लाख
- ढोलिमारा सामुदायिक सांस्कृतिक भवन – १० लाख
- सहकारी प्रवर्द्धन – २ लाख
- डोजर तथा JCB खरिद – ५५ लाख
- ६ वटा वडालाई ६० लाखका दरले बजेट विनियोजन गरिएको छ।
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि समेत ठोस कार्यक्रम ल्याइएको छ।
- शिक्षा शाखाका लागि कुल २ करोड ११ लाख
- स्वास्थ्यका लागि ७० लाख
- कृषि शाखाका लागि २५ लाख
- पशु सेवा शाखाका लागि १५ लाख विनियोजन गरिएको छ।
शिक्षा क्षेत्र अन्तर्गत:
- स्थानीय पाठ्यपुस्तक लेखन र छपाइ – ७ लाख
- ल्यापटप/प्रोजेक्टर व्यवस्थापन – ७ लाख २० हजार
- सुत्केरी शिक्षक विदामा स्वयंसेवक शिक्षकको व्यवस्था – ५ लाख ५० हजार
- अभिभावकविहीन बालबालिका छात्रवृत्ति – ३ लाख ५० हजार
- बालकक्षा र शैक्षिक सामग्री – ४ लाख ५० हजार
- नेपाल स्काउट – ३ लाख
- अभिभावक शिक्षा – ३ लाख
स्वास्थ्यमा:
- नसर्ने रोग (६ वडामा शिविर) – ४ लाख
- महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बीमा – ४ लाख
- सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान – २ लाख
- उच्च रक्तचाप/मधुमेह औषधि – ८ लाख
- स्वास्थ्य स्वयंसेविकाको भत्ता तथा खाजा – ९ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ।
योजना कार्यान्वयनमा चुनौती
सभामा सहभागी सदस्यहरूले संघीय तथा प्रदेश सरकारका योजनाहरू ढिलो सुरु हुने, गुणस्तर कमजोर हुने, स्टेटमेन्टअनुसार काम नगर्ने, निर्माण सामग्रीमा दोहोरो रोयल्टी लाग्ने, डिपिआर नहुँदा योजना सञ्चालनमा समस्या हुने, कार्यपालिकाका निर्णय कार्यान्वयन नभएको, स्थानीय पाठ्यपुस्तक अझै छपाइ नहुँदा समस्या हुने लगायतका गुनासाहरू उठाएका थिए।
तिनै गुनासो तथा सुझावहरूलाई गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, र प्रशासकीय प्रमुख सुन्दरप्रसाद श्रेष्ठले सभामार्फत सम्बोधन गरेका थिए।
उत्कृष्ट योजना र कर्मचारी सम्मानित
अधिवेशनमा ५ लाखभन्दा माथिका योजनामध्ये उत्कृष्ट कार्यसम्पादन गरेको तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति योजना उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार बारघरे, सचिव सुनिता ढेंगा, कार्यक्रम अधिकृत विनोद नेपाल, स्वास्थ्य शाखाका पदमबहादुर थापा दर्लामी, कम्प्युटर अपरेटर मनबहादुर सारु, कृषि शाखाबाट हरिप्रसाद उपाध्याय सिग्देल, वडा सचिव रुमी सरा दिसुवा मगर, र कार्यालय सहयोगी शान्ति आचार्यलाई नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो।
गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।
 
  
  
  
  
 
 
  
  
  
  
  
  
 
    
    
    	
							
							
								 
									प्रकाशित :  २०८२ असार  २२ गते २२:३४
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment